पेट्रोलियम पदार्थको अभाव हुने भएपछि हप्तामा दुई दिन बिदा दिन निगमको सरकारलाई प्रस्ताव
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बढ्दो घाटालाई न्यूनिकरण गर्ने प्रस्ताव अघि सारेको छ । निगमले विभिन्न १० वटा प्रस्ताव अघि सारेको हो । जसमा शनिबार र आईतबार दुई दिन बिदा दिनुपर्नेदेखि लिएर सरकारले लिँदै आएको कर छुट हुनुपर्ने सम्मका प्रस्ताव छन् ।
सरकारी बैंकहरू, नागरिक लगानी कोष, संचय कोषजस्ता संस्थाहरूबाट निगमलाई आवश्यक पर्ने रकम सहज र सरल रूपमा उपलब्ध गराउने व्यवस्थाका लागि अर्थ मन्त्रालयले प्रत्यक्ष रुपमा सहयोगी भूमिका खेल्नुपर्ने निगमको प्रस्ताव छ ।
त्यस्तै अब उप्रान्त पेट्रोल, डिजल, मट्टितेल तथा एलपी ग्यासमा प्रति युनिट जेजति घाटा भइरहेको छ उक्त घाटा एकै पटकमा समायोजन गरी निगमलाई न नाफा न घाटा अवस्थामा संचालन गरिनुपर्ने निगमको प्रस्ताव छ ।
पेट्रोलियम पदार्थहरु मध्ये पेट्रोल र डिजलको खपत कटौती गर्न संवेदनशिल क्षेत्र वा निकाय बाहेकका निजी तथा सरकारी सवारी साधनहरु जोर विजोर प्रणालीमा संचालन गर्ने, सार्वजनिक तथा सरकारी सवारी साधनहरूको प्रयोग कम गराउने उद्देश्यले शनिवार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था मिलाउनुपर्ने प्रस्ताव अघि सारेको छ ।