आगामी निर्वाचनमा गठबन्धनको चर्चा :कांग्रेसको एमालेसँग गठबन्धनको प्रस्ताव, नेकपा एकीकृत समाजवादी पनि कार्यदल गठन गर्दै
काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग चुनावी गठबन्धनको कुरा उठेको छ ।
सात मध्ये पाँच प्रदेशका कांग्रेस प्रमुखहरुले स्थानीय चुनावमा गठबन्धनको पक्षमा धारणा राख्दा केही केन्द्रीय नेताहरुले भने विपक्षी नेकपा एमालसँगको गठबन्धनको विषय उठाएका हुन् ।
केन्द्रीय स्तरबाट गठबन्धन गर्न नहुने धारणा राख्ने कतिपय नेताहरुले स्थानीय स्तरमा गठबन्धन गर्दा एमालेसँग गर्न आवश्यक रहेको बताएका हुन् ।
उनीहरुले आवश्यकता अनुसार एमालेसँग पनि गठबन्धन गर्नुपर्ने प्रस्ताव राखेको बैठकमा सहभागी एक नेताले बताए ।
कांग्रेस कर्णाली प्रदेश सभापति ललितजंग शाहीले कर्णालीका कतिपय स्थानीय तहमा एमालेसँग गठबन्धन गर्न आवश्यक रहेको बताएका थिए । माओवादीविरुद्ध एमालेको साथ आवश्यक रहेको उनले बैठकमा बताएका थिए ।
अहिले कम्युनिस्ट पार्टीमा विभाजन आएको बेलामा एक्लै चुनाव लड्न उपयुक्त भए पनि कतिपय स्थानमा माओवादीविरुद्ध एमालेसँग मिल्नुपर्ने अवस्था रहेको उनको भनाइ थियो ।
गठबन्धनबारे संवाद गर्न कार्यदल गठन गर्दै नेकपा (एकीकृत समाजवादी)नेकपा (एकीकृत समाजवादी)ले महासचिव डा. बेदुराम भुसाल नेतृत्वमा गठबन्धनबारे संवाद गर्न कार्यदल गठन गर्ने भएको छ । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टीलगायत दलसँग गठबन्धन गर्न संवाद गर्ने कार्याधिकार कार्यदललाई दिइने पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
कार्यदल गठन केही दिनमै हुने पनि उनले बताए । ‘प्रतिगमनविरोधी शक्तिलाई परास्त गर्न भए पनि गठबन्धन बनाएर निर्वाचनमा जानुपर्ने हाम्रो बुझाइ हो र सत्तारुढ गठबन्धनका घटकहरू पनि गठबन्धनको पक्षमा छन्’, खतिवडाले भने, ‘महासचिवको नेतृत्वमा गठबन्धनबारे संवाद गर्न कार्यदल गठन गर्ने तयारीमा छौँ । नेताहरू उपत्यकाबाहिर भएकाले ढिलाई भएको हो ।’