नागरिक पोष्ट News


स्थानीय तहको चुनावमा फेरि वामपन्थी एकता !

1.3K

काठमाडौं : स्थानीय तहको निर्वाचन आउन ५२ दिन बाँकी रहँदा वामपन्थी दलहरुबीचको गठबन्धन वा एकताबारे बहस चर्किएको छ । चुनाव नजिकिएसँगै फेरि वामपन्थी पार्टीहरुबीचको एकताबारे बहस सुरु भएको छ । सोमबार बसेको नेकपा एमालेको पोलिटव्यूरो बैठकमा नेताहरु घनश्याम भुसाल र रघु पन्तले वामपन्थी दलहरुबीच गठबन्धन र एकता गर्दै अघि बढ्नु पर्ने बताएपछि यो विषय चर्चामा रहेको छ । ठूलो वामपन्थी दल भएका कारण एमालेले गठबन्धन तथा एकताको पहलपदमी गर्नु पर्ने नेताहरुले बताइरहँदा अर्को वाम पार्टी नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डमा समेत वाम गठबन्धन बनाउन दबाब रहेको समाचारहरु सार्वजनिक भएका छन् ।

माओवादीका नेता हरिबोल गजुरेलले अध्यक्ष प्रचण्डमाथि वाम गठबन्धन बनाउन दबाब रहेको बताएका थिए ।

उता नेकपा एमालेका नेताहरुले पनि वामपन्थी पार्टीबीचको एकताबारे बहसलाई तिब्रता दिएका छन् । स्थायी कमिटी सदस्य घनश्याम भुसालले मंगलबार पत्रकारसम्मेलन नै गरेर वामपार्टीहरुबीचको एकता आवश्यक रहेको बताएका थिए ।वामपन्थी दलहरुबीचको एकताबारे बहस भए पनि यसको सम्भावना तत्काल नदेखिएको एमालेकै नेताहरुको भनाइ छ । भुसालले वामपन्थी दलहरुबीचको गठबन्धन र एकताका लागि एमाले ठूलो दल भएको हैसियतमा अग्रसरता लिनु पर्ने बताइरहँदा उनकै दलका अध्यक्ष केपी शर्मा ओलीले भने त्यसलाई अस्वीकार गरिदिएका छन् ।

सोमबारको पोलिटब्यूरो बैठकमा ओलीले माओवादी केन्द्र र एकीकृत समाजवादी लगातका दल वामपन्थी नभएको बताउँदै आसन्न चुनावमा ती दलहरुसँग गठबन्धन हुन नसक्ने बताए । पार्टी अध्यक्षले यसो भनिरहँदा माओवादी केन्द्र र एकीकृत समाजवादीसँग चुनावी तालमेल वा एकताको विषय अघि बढ्ने सम्भावना न्यून देखिएको छ । राजनीतिक मुद्दा, विचारमा विवाद भएर तत्कालीन नेकपा विभाजित भएको थिएन । नेताहरुको सत्ता स्वार्थका कारण विभाजन भएका कारण तत्काल त्यो ‘इगो’ समाप्त हुने सम्भावना न्यून देखिएको छ । तर, राजनीतिमा असम्भव भन्ने हुँदैन भनेजस्तै घटना क्रम फरक ढंगले विकास हुन सक्ने सम्भावनालाई भने नकार्न सकिँदैन ।

माओवादी नेता गजुरेलले एमालेसँग गठबन्धन गर्ने विषयमा आधारहरू नदेखिएको बताएका छन् । सत्ता गठबन्धन प्रतिगमनलाई रोक्न बनेको र त्यसको खतरा अझै नटरेकाले एमालेसँगको गठबन्धनको आधार नरहेको उनकी भनाइ छ । नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले पनि एमालेसँगको गठबन्धनलाई भन्दा कांग्रेससँगको वर्तमान गठबन्धनलाई चुनावसँग लैजान बढी जोड गरिरहेका छन् ।

ओलीसँगको टकरावका कारण अहिलेको अवस्था आएको भन्दै ती दलले एमालेको सूर्यमा ‘ग्रहण’ लगाइदिने उद्घोष गरिरहेका छन् । नेताहरुबीचको कटुताका कारण पनि नजिकएको स्थानीय तहको निर्वाचनमा गठबन्धन हुने कुरामा नेता कार्यकर्ताले विश्वास गरिरहेका छैनन् ।

Must View