१७ औ विश्व डाउनसिण्ड्रोम दिवसका अवसरमा र्याली तथा प्याड वितरण
- शर्मिला विश्वकर्मा
काठमाडौं । डाउन सिण्ड्रोमा नेपाल समाजले १७ औ विश्व डाउन सिण्ड्रोम दिवसका अवसरमा काठमाडौंमा प्रभातफेरी गरी शुभकामना सहितको कार्यक्रम समपन्न गरेको छ । " हाम्रो निर्णय हामी आफै गर्छौ We Decide" भन्ने नारा सहित आज यस दिवसलाई नेपाल भरी विभिन्न कार्यक्रमहरुको आयोजना गरेर मनाइएको छ । यसै दिवसका अवसरमा हामी नेपालका अध्यक्ष सबु पौडेलले १० जना डाउन सिण्ड्रोम अपाङ्गता भएका किशोरीहरुलाई पुन: प्रयोग गर्न मिल्ने प्याड वितरण गर्नु भयो ।
विश्व डाउन सिण्ड्रोम दिवसका अवसरमा काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा एविलिज फाउण्डेशनका राष्ट्रिय संयोजक डा.विरेन्द्रराज पोखरेलले डाउन सिण्ड्रोम अपाङ्गता भएका बालबालिकाहरुलाई आवश्यकता पहिचान गरी स्वनिर्णय र स्ववकालत गर्न सक्ने वातावरण सृजना गरी सहजीकरण गर्नु पर्ने बताउनु भयो । त्यसै गरी डाउन सिण्ड्रोम अपाङ्गता भएका व्यक्ति तथा स्ववकालतकर्ता प्रवेश अर्यालले डाउन सिण्ड्रोम अपाङ्गता भएका व्यक्तिहरुको विषयमा जानकारी दिनु भएको थियो ।
काठमाडौं महानगरपालिकाका शिक्षा विभागका शिक्षा प्रमुख रामकृष्ण सुवेदीले डाउन सिण्ड्रोम अपाङ्गता भएका बालबालिकाहरुलाई सेवा सुविधा प्रदान गर्दै आएको संस्था डाउन सिण्ड्रोम समाज नेपाललाई आवश्यक सहयोगका लागि पहल गर्ने बताउनु भयो । कार्यक्रममा आयोजक संस्था डाउन सिण्ड्रोम समाज नेपालकी अध्यक्ष शिला थापाले डाउन सिण्ड्रोम अपाङ्गता भएका व्यक्तिहरुलाई राज्य स्तरबाट कुनै पनि सहयोग प्राप्त नभएको गुनासो गर्दै अबका दिनमा राज्यका कार्यक्रमहरुमा यस्ता बालबालिकाहरुलाई समावेश गर्नु पर्ने कुरामा जोड दिनु भयो ।
यस दिवसका अवसरमा डाउन सिण्ड्रोम अपाङ्गता भएका व्यक्तिहरुलाई खेलकुदमा समावेशी सहभागीता गराउनु पर्ने, मनोरञ्जन क्षेत्र नि:शुक तथा अपाङ्गता मैत्री हुनु पर्ने, राज्यका हरेक क्षेत्रमा उनीहरुको समान पहुँच हुनु पर्ने, उनीहरुको क्षमताको कदर गर्दै क्षमता र रुचिको पहिचान गरी रोजगार उपलब्ध गराउनु पर्ने लगायतका मागहरु लेखिएको प्ले कार्ड सहित जनचेतना मुलक र्याली निकालिएको थियो । कार्यक्रममा " महिनावारी र मेरो ज्ञान " नामक पुस्तक र २०७९ को क्यालेण्डर पनि विमोचन गरिएको थियो ।