माओवादीकै कारण देशमा परिवर्तन सम्भव भयो : प्रचण्ड
काठमाण्डाै – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा आएको परिवर्तन माओवादीकै कारण सम्भव रहेको सन्देश लिएर गाउँ जान नेता/कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
सिन्धुली जिल्ला पार्टी कार्यालयको उद्घाटन समारोहमा अध्यक्ष प्रचण्डले संविधान निर्माण, संघीयता, पछि पारिएका वर्गलाई अधिकार दिने लगायतका सबै परिर्वतन माओवादीका कारण मात्रै सम्भव भएको संदेश लिएर चुनावको लागि गाउँ/सहरमा खटिन निर्देशन दिनुभयो । आफूहरुले प्रतिनिधिसभाको पहिलो विघटन असफल पारेपछि नेता/कार्यकर्ता आरामले बस्दा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रोपटक पनि विघटन गरेर संविधान नै मास्न खोजेको प्रचण्डको दाबी छ ।
एमाले अध्यक्ष ओलीलाई नयाँ संविधान, संघीयता, दलित, जनजाती, मधेसी, मुस्लिम, महिला लगायतले अधिकार पाएको मन नपरेकोले ओलीलाई सत्तामा पुर्याएमा जतिबेला पनि परिवर्तनमाथि खतरा हुन सक्ने र देश बरबाद हुनसक्ने प्रचण्डले जिकिर गर्नुभयो । ओलीले जात र धर्मको राजनीति गर्न खोजेको आरोप लगाउँदै प्रचण्डले केहि अदृश्य शक्तिले ओलीमार्फत संविधान र गणतन्त्र उल्ट्याउने र देशलाई धार्मिक अतिवादमा लगेर विदेशीको अगाडि सुम्पिन चाहेका प्रचण्डको आरोप छ ।