डेढ वर्षीया नाबालकको बलात्कार पछि हत्या गर्ने दुई युवक पक्राउ
बेलबारी - मोरङको बेलबारीकी डेढ वर्षीय बालिकाको बलात्कारपछि हत्या भएको छ।
प्रहरीले बलात्कारपछि हत्या गरेको अभियोगमा दुई जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले मोरङ सुन्दर हरैचा नगरपालिका वडा नम्बर ७ बस्ने २५ वर्षीय अजय चौधरी र २८ वर्षीय मिथुन चौधरीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी मञ्जिल मुकारुङले बताए।
फागुन २७ गते घरबाट खेल्दै गरेको अवस्थामा बालिका हराएकी थिइन्। साढे ६ बजेतिर मोरङ सुन्दरहरैचा नगरपालिका वडा नम्बर ७, गणेशपुरमा वनमारा, बयर घारीमा भेटिएकी थिइन्। शरीरमा चोट लागेको अवस्थामा बालिका भेटिएकी थिइन्। त्यसपछि उनलाई गछियास्थित स्थानीय अस्पतालमा लगिएको थियो। थप उपचारका लागि नोबेल अस्पताल विराटनगर लगिएकोमा भोलिपल्ट उनको मृत्यु भएको थियो।
घटना कसरी भयो?
२७ गते अजय चौधरी गछिया खोलामा बालुवा चाल्दै थिए। त्यहीँ उनका दाजु मिथुन चौधरीसँग भेटघाट भयो। त्यसपछि केरा बगानमा गई गाँजा खान थाले। गाँजा खाइसकेपछि घरमा एक्लै देखेको बच्चा लिएर आउँछु भन्दै अजय हिँडेका थिए।
घरमा जाँदा बालिका छेउमा एक्लै खेल्दै गरेको उनले देखे। वरिपरि कोही पनि नभएको मौका छोपी नाबालकलाई बोकेर वनमारा झाडीमा पुर्याएको प्रहरी अनुसन्धानमा खुलेको छ। दुवैलै करणी गरेर हत्या गरेको प्रहरीले जानकारी दिएको छ।