नीति पुनरावलोकन परामर्श गोष्ठी
शर्मिला विश्वकर्मा, काठमाडौं । नेत्रहिन महिला संघ नेपालको आयोजना तथा ओपन सोसाइटी फाउण्डेशन एलायन्स फर सोसल डाइलगको सहयोगमा अपाङ्गता भएका महिलाहरुको आर्थिक अधिकार, वित्तिय न्या र समावेशीकरणका लागि सरोकारवाला निकायहरुसँग परामर्श गोष्ठी गरियो ।
११२ औं आन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा काठमाडौंमा आयोजना गरिएको कार्यक्रमा आयोजक संस्था नेत्रहिन महिला संघ नेपालकी अध्यक्ष सिता सुवेदीले संस्थाले स्थापना काल देखि नै दृष्टिविहिन अपाङ्गता भएका महिलाहरुको शिक्षा, स्वास्थ्य, रोजगार, सीप तथा न्यायमा पहुँचका सवालमा काम गर्दै आएको बताउनु भयो ।
कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका अधिकृत विमला बरालले अपाङ्गता भएका व्यक्तिहरुको रोजगार तथा अपाङ्गता मैत्री संरचनाका लागि विभिन्न नीति नियमहरु निर्माण गरेर काम गर्दै बताउनु भयो । त्यसै गरी महिला तथा बालबालिका विभागका महानिर्देशक कृष्णप्रसाद पराजुलीले यस गोष्ठिमा ती निकायहरुमा अपाङ्गता भएका व्यक्तिहरुको सहज पहुँच पुग्न सक्ने सल्लाह सुझाब प्रस्तुत गर्नको लागि पनि आग्रह गर्नु भयो ।
यसै क्रममा नेत्रहिन महिला संघका परामर्शदाता राम गुरुङ्गले अपाङ्गतामा पनि दृष्टिविहिन अपाङ्गता भएका व्यक्तिहरुलाई वित्तिय संस्थाहरु तथा बैंकहरुमा सेवा लिन निकै चुनौती रहेको बताउनु भयो । यो परामर्श गोष्ठी स्पाइनलकर्ड ईन्जुरी खेलकुद संघका अध्यक्ष देवि आर्चायले सरोकारवाला निकायका कर्मचारीहरुमा अपाङ्गतको विषयमा जानकारी नभएको, अपाङ्गता मैत्री संरचना नहुदा चुनौती हुने गरेको गुनासो गर्नु भयो । साथै ब्राइट सोसाइटी नेपालका कोषाध्यक्ष शुशिल अधिकारीले बैंक तथा वित्तिय संस्थाका कर्मचारीहरुलाई अपाङ्गताको विषयमा जनचेतना जगाउनु पर्ने कुरामा जोड दिनु भयो ।
यस कार्यक्रममा द लेप्रोसी मिसन नेपालका रोजगार परामर्शदाता किर्तन श्रेष्ठ / दुलालले अपाङ्गता भएका व्यक्तिहरुलाई रोजगार उपलब्ध गराउने, बैंङ्किङ सेवा तथा वित्तिय सेवा उपलब्ध गराउने निकायहरुलाई राज्यले कर छुट वा अपाङ्गता मैत्री संरचना निर्माणका लागि सहयोग गर्नु पर्ने बताउनु् भयो । त्यसै गरी ललितपुर महानगरपालिकाकी अधिकृत निरा अधिकारीले अपाङ्गता भएका व्यक्तिहरुको आर्थिक अधिकार सुनिश्चित गर्न, बैंङ्किङ तथा वित्तिय संस्थाबाट सेवा प्रदान गर्नको लागि नीति नियमहरु बनाउनु पर्ने र ती नीनि नियमहरु पूर्ण रुपमा कार्यन्वयन गराउनु पर्ने बताउनु भयो ।
कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका अपाङ्गता अधिकार प्रवर्धन शाखाका शाखा अधिकृत नरबहादुर चन्दले मन्त्रालय मार्फत अपाङ्गता भएका व्यक्तिहरुका केही सवालहरुलाई संवोधन गरिएको जानकारी दिनु भयो । यसै क्रममा राष्ट्रिय अपाङ्ग कोषका सभापति तथा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका उपाध्यक्ष रमेश लामाले राज्यले अपाङ्गता भएका व्यक्तिहरुलाई उनीहरुको क्षमता, योग्यता र सीपका आधारमा रोजगार प्रदान गर्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा सहभागि दृष्टिविहिन अपाङ्गता भएका व्यक्तिहरुले अधिकाशं बैंकहरुले दृष्टिविहिन अपाङ्गता भएकै कारण खाता खोल्न नदिने, खाता खोले पनि चेक, एटिएम कार्ड, बैंङ्किङ् सेवा नदिने, संरक्षक पनि इच्छाएको व्यक्ति नभएको घरको नै व्यक्ति राख्नु पर्ने भनेर बाध्य बनाउने गरेको गुनासो गर्नु भएको थियो भने बहिरा अपाङ्गता भएका व्यक्तिहरुले त्यस्ता निकायहरुमा साङ्केतिक भाषाको दोभाषे हुनु पर्ने र अपाङ्गता भएका व्यक्तिहरुलाई सहुलियत दरमा ऋण उपलब्ध गराउने व्यवस्था गर्नु पर्ने बताउनु भएको थियो ।