नागरिक पोष्ट News


‘चम्सुरी’को सफलतापूर्वक मिर्गौला प्रत्यारोपण

1.4K

काठमाडौं - कलाकार पल्पसा डंगोल ‘चम्सुरी’को सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरिएको छ । बुधबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा चिकित्सकले चार घण्टा लामो शल्यक्रियामार्फत उनलाई एउटा मिर्गौला प्रत्यारोपण गरेका हुन् ।

पल्पसालाई भाइ नाता पर्ने अजु डंगोलले मिर्गौला दान दिएका हुन् । प्रत्यारोपणपछि अहिले पल्पसालाई चिकित्सकीय निगरानीमा राखिएको छ । चिकित्सकले अहिले पल्पसाको अवस्था सामान्य रहेको र केही घण्टामा होस आउने जानकारी दिएको चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले बताए ।

‘अहिले उहाँको अवस्था सामान्य छ र दुई चार घण्टामा होसमा फर्कने जानकारी हामीले पाएका छौं,’ खड्काले अनलाइनखबरलाई भने । पल्पसालाई अझै एकसाता अस्पतालमै राखिनेछ भने मिर्गौला दान दिएका अजुलाई चार दिनसम्म राखिनेछ ।

मिर्गौला प्रत्यारोपण गर्न १२ लाख रुपैयाँ खर्च भएको जानकारी दिंदै अध्यक्ष खड्काले खर्च जुटाउन संघले पहल गर्ने जानकारी दिए ।

‘खर्च जुटाउन कलाकार संघको संयोजकत्वमा समिति बनाउने तयारी गर्दैछु,’ अध्यक्ष खड्काले भने, ‘चलचित्र विकास बोर्ड मातहतको कल्याणकारी कोषबाट समेत सहयोग गर्न पहल हुनेछ ।’

पाँच वर्षअघि नै पल्पसाको मिर्गौलामा समस्या देखिएको थियो । हास्य टेलिश्रृंखला ‘मेरी बास्सै’मा सुरुदेखि नै अभिनय गर्दै आएकी पल्पसा ६ महिनापछि गत कात्तिक ३० गते उक्त टेलिफिल्ममा फर्किएकी थिइन् ।

कोरोना महामारीका कारण शिक्षण अस्पतालले मिर्गौला प्रत्यारोपण सेवा बन्द गरेपछि यसअघि उनको शल्यक्रिया रोकिएको थियो ।

Must View