११२औ अन्र्तराष्ट्रिय नारी दिवसको अवसरमा महिला कामदारको हकहित र सुरक्षा” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
काठमाडौं । “सामाजिक न्याय र लैंगिक समानता, दिगो विकासको सुनिश्चितता” -Gender Equity Today for a Sustainable Tomorrow) भन्ने नाराका साथ ८ मार्चमा विश्वभर मनाउने ११२औ अन्र्तराष्ट्रिय नारी दिवसको अवसरमा मंगलादेवी स्मृति प्रतिष्ठान र साथी संगी नेपालद्धारा संयुक्त रुपमा “महिला कामदारको हकहित र सुरक्षा” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख अतिथि पूर्व उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका वरिष्ठ नेता माननीय प्रकाशमान सिंहले नारी दिवसको शुभकामना व्यक्त गर्दै आफूले सधै महिला शशक्तिकरणलाई जोड दिने गरेको बताउनुभयो । आफ्नो आमाको नाममा स्थापित संस्था समेतको सहकार्यमा रहेको कार्यक्रममा प्रमुख अतिथि सिंहले आमाको सम्झना गर्दै आमाले महिलाहरुको शीप, क्षमता विकास, महिला अधिकारमा सधै अग्रसर हुने गरेको बताउनुभयो । सभासद एवं नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सुष्मा राजभण्डारीले महिलाहरुको अन्तरनिर्हित रहेको कलालाई चिनेर बाहिर ल्याउन सक्न पर्ने बताउनुभयो ।
कार्यक्रममा कामनपा सामाजिक विकास विभागका प्रमुख दिपक अधिकारीले सरकारी निकाय, गैर सरकारी संस्था र संघ संस्थाहरुका विभिन्न तहतप्काहरुमा महिलाहरुलाई समान ज्याला, व्यवहार र अवसर दिनुपर्ने बताउनुभयो । महानगरीय प्रहरी वृत्त दरवारमार्गका प्रहरी नायब उपरिक्षक विश्वराज खड्काले महिला कामदारको हकहित र सुरक्षाका विषयमा बोल्नुपर्दा आफ्नो अनुभवहरुमा मनोरञ्जनात्मक क्षेत्रमा काम गर्ने महिला कामदारहरु बढी शोषित र यौनजन्य हिंसामा पर्ने गरेको भन्दै त्यस किसिमका केशहरुमा उजुरी पर्ने गरेकोले यस विषयलाई महत्व दिने गरेको बताउनुभयो । त्यस्तै वरिष्ठ उद्यमी तथा किर्तिपुर उद्योग वाणिज्य महासंघका अध्यक्ष राज्यलक्ष्मीले महिला हक अधिकारको सन्दर्भमा आफू विना वर्दीको प्रहरीले झै हरेक किसिमको अफ्ठयारो पर्दा आफूले सक्ने सहयोग र सहकार्य अहोरात्र खटेर गर्ने गरेको बताउँदै नारी उत्थानका लागि श्वास रहुन्जेल गर्ने र अरुले पनि त्यहि गर्नपर्ने कुरामा जोड दिनुभयो ।
कार्यक्रममा साथी संगी नेपालका अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष रीना श्रेष्ठले स्वागत मन्तव्य दिँदै काम गर्ने शिलशिलामा महिला कामदारहरु कतिको सुरक्षित छन् त, महिलाहरुको शीप, क्षमता र आत्मबल वृद्धि गर्न समान ज्याला समान व्यवहार पाएका छन् त, देश विदेशमा काम गर्ने, घरेलु कामदारमा रुपमा काम गर्ने महिलाहरु सुरक्षित छन् त भन्ने प्रश्नहरु यथावत् रहेका छन् त्यसैले आजको यस महत्वपूर्ण दिनमा यसै विषयमा केन्द्रित रहेर “महिला कामदारको हकहित र सुरक्षा” विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेका बताउनुभयो ।
कार्यक्रममा प्रमुख वक्ताका रुपमा अधिवक्ता विष्णु तिमिल्सिनाले आफ्नो प्रस्तुतिकरण गर्नुभएको थियो । कार्यक्रममा कामनपा वडा नं २८ का वडाध्यक्ष भाईराम खड्गी, वडा नं २७ का वडा सदस्य उर्मिला महर्जन, सामाजिक विकासका प्रशासन प्रमुख पदम केशर अधिकारी, प्रभु मेनेजमेन्टका केशवराज आचार्य, मंगलादेवी स्मृति प्रतिष्ठानका सल्लाहकार बीन कुमार वि.क लगायतको उपस्थिति रहेको थियो । मंगलादेवी स्मृति प्रतिष्ठानका अध्यक्ष गंगालक्ष्मी अवालले नारी दिवसको अवसरमा समानतालाई सहकार्यमा बदलेर दिगो विकास र समृद्ध देश बनाउनका लागि नारीहरुको पनि शशक्त भूमिका रहनुपर्ने भन्दै कार्यक्रममा उपस्थित हुनु भएका सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।
अन्र्तराष्ट्रिय नारी दिवस महिला जागरुकताको दिवस पनि हो । नारीहरुले सामाजिक, अािर्थक, सांस्कृतिक र विकासका अन्य धेरै क्षेत्रहरुमा गरेको योगदान, सक्रिय सहभागिता र नेतृत्वको प्रशंसा गरिने दिन पनि हो । सामाजिक न्याय, महिला अधिकार, महिला शशक्तिकरण र लैंगिक समानताका कुराहरु जति नै गरिरहेतापनि नारी उत्पीडन, असमानता र दैनिक जसो महिला हिंसाका घटनाहरु हामीले सुनिरहेका छौ भोगी रहेका छौ । र यसका मुख्य कारण भनेको नेपाली समाजको पैतृक लैगिंक संचना र कमजोर कानूनी प्रावधान रहेको छ । जहाँ नारी पुजिन्छ त्यहाँ देवता रम्दछ भन्ने उखान नै छ नी । देवी भगवती र माता लक्ष्मीको पूजा गरिने यस समाजमा त्यहि देवी र माताका रुपमा रहेकी नारीहरुको नै अस्मिता लुटिन्छ त्यही नारीहरुलाई कमजोर ठानिन्छ । थुप्रै चुनौतीहरुको सामना गर्दै भएपनि अहिले महिलाहरुले जुनसुकै क्षेत्रमा आफनो शीप र दक्षता देखाउन सफल पनि भइरहेका छन् ।