नागरिक पोष्ट News


११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा पूर्णदृष्टिविहीन महिला अधिकृत निरा अधिकारी सम्मानित

2.1K

शर्मिला विश्वकर्मा, काठमाडौं -  ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा पहिचान नेपालले अपाङ्गताको क्षेत्रमा प्रेरणादायी  काम गर्नु भएकी ललितपुर महानगरपालिकाकी अधिकृत पूर्णदृष्टिविहीन अपाङ्गता भएकी महिला निरा अधिकारीलाई सम्मान गरेको छ ।  उहाँको मेहनत र सफलताले अन्यलाई पनि प्रेरित गरेकोले उहाँलाई दिवसको अवसरमा घोडाको चित्र सहितको फोटोफ्रेम प्रदान गरी सम्मान गरिएको हो ।  

कार्यक्रममा पहिचान नेपालका अध्यक्ष इच्छा के.सीले अपाङ्गता भएका व्यक्तिको जीवनस्तर सुधार्न  एविलिज फाउण्डेसन मार्फत प्राप्त परियोजना अन्तरगत सञ्चालन गरिएका कार्यक्रमबारे जानकारी दिनु भएको थियो ।  अधिकारकर्मी डा.विरेन्द्रराज पोखरेलले लैङ्गिक समानता र अधिकारबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । 

परिवार नियोजन सङ्घ उपत्यका शाखामा  साथी शिक्षक (पियर एजुकेटर)का रूपमा काम गरिरहनुभएकी सञ्जीया श्रेष्ठले अपाङ्गता भएका व्यक्तिहरूका प्रजनन स्वास्थ्य अधिकारको क्षेत्रमा काम गर्दा सङ्गाल्नुभएको अनुभव सुनाउनु भयो । उहाँले दस प्रकारका अपाङ्गता भएका व्यक्तिमध्ये सबैको स्वास्थ्य समस्या र प्रजनन स्वास्थ्यबारे फरक तरिकाले बुझ्ने क्षमता र आवश्यकता पनि भिन्न–भिन्न रहेको बताउनुभयो । अपाङ्गता भएका व्यक्तिहरूका लागि प्रजनन स्वास्थ्यबारे बुझाउने, स्वास्थ्यसेवा दिन सक्ने क्षमता भएका स्वास्थ्यकर्मीकै कमि रहेको सञ्जियाको अनुभव सुनाउनुभयो । 

त्यसै गरी मधुसुदन घिमिरेले मनोसामाजिक समस्याको अवस्था र त्यसको समाधानका बारेमा चर्चा गर्नु भएको थियो । उहाँले कोरोना महामारी, विपत र हिंसा भोग्नु परेको अवस्था र अपाङ्गता भएका व्यक्तिले भोग्नु पर्ने विविध समस्याका कारण मनोसामाजिक समस्या भए त्यस्तो चुनौती पूर्ण अवस्थाको सामना गर्न सकिने उपायबारे बताउनुभयो । कार्यक्रममा निरा अधिकारीले पनि सचेतना र जागरणमुलक कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

 

Must View