महिला शिक्षक समाजले मनायो ११२औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस
काठमाडौँ - नेपाल महिला शिक्षक समाजले ‘सामाजिक न्याय र लैंगिक समानता, दिगो विकासको सुनिश्चिता’ भन्ने नारासहित ११२औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाएको छ। शिक्षक समाजले मंगलबार काठमाडौंको दरबार हाई स्कुलमा एक कार्यक्रम आयोजना गर्दै महिला दिवस मनाएको हो।
कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गीले नेतृत्व तहमा महिलाको सन्तोषजनक उपस्थिति नरहेको बताउनु भयो। उहाँले स्थानीय सरकारको नेतृत्वमा समेत महिलाहरूको उपस्थिति कम रहेको बताउँदै १८ जना महिलाले स्थानीय तहको नेतृत्व गरेको जानकारी समेत दिनुभयो। ‘महिलालाई अझै पनि नेतृत्व तहमा पुग्न नदिने विभिन्न बाधाहरू छन्, त्यसलाई हटाउनुपर्छ,’ भन्दै अब गृहीणी महिलाहरुलाई भत्ता दिइनु पर्ने समेत उहाँले कार्यक्रममा बताउनु भयो ।
कार्यक्रममा बोल्दै महिला शिक्षक समाजकी अध्यक्ष जानुका नेपालले महिला अधिकार नारामा मात्रै सीमित रहेको भन्दै राज्यले महिलालाई पुरुषसरह अधिकार दिनुपर्ने धारणा राख्नु भयो। त्यस्तै महिलालाई अगाडी बढाउन महिला हिंसा घर घरबाटै अन्त्य गरी उनीहरुलाई समान हक र अधिकारको लागि प्रोत्साहन गर्नु पर्ने बताउनु भयो ।त्यसै गरी समाजकी उपाध्यक्ष तथा जनकल्याण माध्यमिक विद्यालयकी प्रधानाध्यापक कुमारीकमला राईले महिलाको क्षमता, स्वभाव, दायित्व बोधका आधारमा उनीहरूलाई जिम्मेवारी दिनुपर्ने बताउनु भयो। नेतृत्व गर्न सक्षम महिला चाहिने भएकाले महिलाहरूले पनि सक्षम बन्नेतर्फ ध्यान दिनुपर्ने उहाँले बताउनु भयो । विद्यालय व्यवस्थापन समिति र कर्मचारीले सहयोग गरेका कारण आफूले विद्यालयमा सहजै नेतृत्व गर्न सकेको अनुभव उहाँले सुनाउनु भयो ।
कार्यक्रममा काठमाण्डौँ महानगरपालिका शिक्षा विभागका प्रमुख राम प्रसाद सुवेदी,नेपाल शिक्षक संघ वागमती प्रदेशका उपाध्यक्ष मञ्जु क्षेष्ठ, नेपाल शिक्षक संघ काठमाण्डौँका अध्यक्ष रविन महर्जन, सामुदायिक विद्यालय सुधार समाजका अध्यक्ष भीम पोखरेल, महिला समाज काभ्रेकी अध्यक्ष सरस्वती कँडेल, भक्तपुर अध्यक्ष, उर्मिला श्रेष्ठ, काठमाडौं अध्यक्ष निता पोखरेल लगायत महिला प्रधानाध्यापकहरु तथा महिला शिक्षकहरूको सहभागिता रहेको थियो। सहभागीहरूले महिला अधिकार नारामा मात्रै सीमित रहेको र यसको कार्यान्वयनमा जोड दिनुपर्ने धारणा राखेका थिए।