राजदूत बेरी भन्छन - " व्याख्यात्मक घोषणामा अमेरिकाले भन्दै आएकै कुरा छ ! "
काठमाडौं - अमेरिकी राजदूत र्याण्डी बेरीले प्रतिनिधिसभाबाट अनुमोदन भएको एमसीसीको व्याख्यात्मक घोषणा अमेरिकाले भन्दै आएको विषय भएको बताएका छन् ।
नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले बुधबार गृहमन्त्री बालकृष्ण खाँणसँगको भेटमा व्याख्यात्मक घोषणामा असहमति नरहेको बताएका मन्त्री खाँणको सचिवालयले जनाएको छ ।
‘एमसीसीबारे सरकार र प्रतिनिधिसभाको व्याख्यात्मक घोषणा हामीले पहिल्यैदेखि भन्दै आएको विषय हो’ भेटमा राजदूत बेरीले राखेको धारणा उधृत गर्दै गृहमन्त्रीको सचिवालयले भनेको छ ।
१५ फागुनमा प्रतिनिधिसभाले एमसीसी सम्झौता १२ बुँदे व्याख्यात्मक घोषणासहित अनुमोदन गरेको थियो । तर कतिपय दल र तिनका नेताहरुले व्याख्यात्मक घोषणालाई अमेरिकाले स्वीकार नगर्ने टिप्पणी गरेका थिए ।
मन्त्री खाँणसँगको भेटमा अमेरिकी राजदूत बेरीले प्रधानमन्त्री, नेपाल सरकार र राजनीतिक दलको स्पष्ट भूमिकाले एमसीसी पास हुन सकेको बताएका थिए ।
गृहमन्त्री खाणले प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी पास गराउन प्रतिपक्षमा हुँदा र अहिले सरकारमा हुँदा पनि दृढ रहेको बताए ।
‘एमसीसीको विषयले वर्तमान सरकारलाई असर नगरोस् भन्नेमा प्रधानमन्त्री चिन्तित हुनुहुन्थ्यो । जुन सफल भयो’ उनले भने ।