नागरिक पोष्ट News


लमजुङ पुगेर नेता पौडेलको अभिव्यक्ति - एमसीसी अस्वीकार गरे ‘डोनर कन्ट्री’ हाम्रा विपरीत हुन्छन   

1K

लमजुङ - नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अमेरिकी सहयाेग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) लाई अस्वीकार गरिए नेपाल बर्बाद हुने बताउनुभएको छ । तनहुँको भानु नगरपालिका ११ रुपाकोटकाे पुतलीबजारमा वडा कार्यसमितिले आयाेजना गरेकाे स्थानीइ निर्वाचन र विकासका चुनौती विषयक अन्तरक्रिया कार्यक्रमलाई आज शुक्रवार सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले यस्तो बताउनुभएको हो । 

एमसीसी नेपालको विकास र उन्नतिका लागि चाहिने बताउँदै नेता पौडेलले एमसीसीलाई अस्वीकार गरिएमा सबै ‘डोनर कन्ट्री’ (दाता देश) नेपालको विपरीत हुने र देश बर्बाद हुने उल्लेख गर्नुभयाे । ‘एमसीसीको विरोध गर्नु कुनै पनि हालतमा नेपालको हितमा छैन । एमसीसी नेपालको हितमा र गरिबी हटाउन आएको हो । यो नराम्रो कुरा छैन । यसलाई नराम्रो प्रचार गरिएको छ’, उहाँले थप्नुभयो, ‘नेपालको हित र विकासका लागि हामीलाई एमसीसी चाहिन्छ । यसलाई अस्वीकार गर्‍याैँ भने सबै ‘डोनर कन्ट्री’ हाम्रा विपरीत हुन्छन् । नेपाल बर्बाद हुन्छ ।’    

कर्यक्रममा बाेल्दै उहाँले तनहुँको रुपाकोटको गाैरवमय इतिहास रहेको र रुपाकोटले कांग्रेसलाई बचाएको स्मरण गर्नुभयो । वीपी कोइराला लमजुङको दुराडाँडाबाट तनहुँको चुँदीतिर झर्दा रुपाकोट बसेर जाने गरेको समेत उहाँले बताउनुभयो ।    

कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले एमसीसी नेपालको भविष्यसँग जोडिएको र यो राम्रो रहेकाले जसरी भए पनि कांग्रेसले एमसीसी पास गरेरै छाड्ने दाबी गर्नुभयाे । 

यस्तै पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले तनहुँको सन्दर्भमा पार्टीभित्र पार्टीका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीलाई भूमिका दिने, नदिने विषयमा स्पष्ट ढङ्गले निष्कर्ष निकाल्नुपर्ने अवस्था आएको बताउनुभएको छ । 

Must View