गठबन्धन तोड्ने देउबाको अडानपछि माओवादी र समाजवादी झुक्न बाध्य
काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनलाई तोडेर भए पनि एमसीसी पारित गर्न कस्सिएपछि नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टी केही लचक भएका छन् ।
उनीहरू गठबन्धनलाई जोगाएर एमसीसीमा सरकारलाई कसरी सहयोग गर्न सकिन्छ भन्ने छलफलमा जुटेका छन् । यसै विषयमा शुक्रबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
उहाँहरूबीच सिंहदरवारस्थित नेकपा (एकीकृत समाजवादी)को संसदीय दलको कार्यालयमा भेटवार्ता भएको हो । अध्यक्ष नेपाल आफ्नो पार्टीका मन्त्रीहरू तथा उपलब्ध सांसदहरूसँग छलफल गरिरहेका बखत अध्यक्ष दाहाल पुग्नुभएको थियो ।
त्यसक्रमा राजनीतिक अन्योल समाधान गर्ने विषयमा छलफल भएको एकीकृत समाजवादीका सचेतक जीवनराम श्रेष्ठले जानकारी दिनुभयो । गठबन्धनलाई कायम राख्ने र एमसीसीमा भएका राष्ट्रहित विरोधी दफाहरूलाई सच्याउन सकिन्छ कि भन्ने सम्बन्धमा नेताहरूबीच कुराकानी भइरहेको उहाँले बताउनुभयो ।
प्रमुख सचेतक श्रेष्ठले प्रमुख प्रतिपक्ष एमालेले देशलाई राजनीतिक अस्थिरतामा लैजाने षड्यन्त्र गरिरहेकाले अझै पनि त्यसका विरुद्धमा गठबन्धन आवश्यक रहेको बताउनुभयो । गठबन्धनको आवश्यकता र महत्व उत्तिकै रहेकाले गठबन्धन कायम राखेर अगाडी बढ्नुपर्नेमा पार्टीको जोड रहेको उहाँको भनाइ छ ।