नागरिक पोष्ट News


नारायणहिटी प्रकरणमा बतास समूहको बिपक्षमा अन्तरिम आदेश

0.9K

काठमाडौं  - नारायणहिटी संग्रहालय परिसरमा रेस्टुरेन्ट सञ्चालन गर्न पाउने प्रयोजनका निम्ति रिट निवेदन दिएको बतास समूहको पक्षमा अन्तरिम आदेश दिन उच्च अदालत पाटनले अस्वीकार गरेको छ ।

रोयल बगैँचा प्रालिका तर्फबाट दायर गरेको रिट निवेदनमाथि उच्च अदालतका न्यायाधीशद्वय लोहितचन्द्र शाह र महम्मद जुनैद आजादको संयुक्त इजलासले मंगलबार सुनुवाइ गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

‘यसमा निवेदकले उठाएको विषयवस्तु प्रस्तुत निवेदन अन्तिम हुँदाका बखत सम्बोधन हुने देखिँदा निवेदन माग बमोजिमको अन्तरिम आदेश जारी गरिरहन परेन,’ अदालतको आदेशमा भनिएको छ ।

यस्तै, नेपाल–भारत मैत्री धर्मशाला, तिलगंगाका तर्फबाट अधिवक्ता अन्जली रायमाझीले दायर गरेको रिटमा पनि उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गर्न नपर्ने ठहर गरेको छ । यद्यपि रिट निवेदनको विषयवस्तुको गाम्भीर्यतालाई मध्यनजर गर्दै अग्राधिकार दिन उपयुक्त रहेको ठहर गर्दै न्यायाधीश दिपेन्द्रबहादुर बमको एकल इजलासले अग्राधिकार दिइ पेसी सूचीमा समावेश गर्न आदेश दिएको छ ।

Must View