बार एशोसियसनको निर्वाचन तालिका सार्वजनिक, फागुन २३ गते उम्मेदवारी दर्ता
काठमाडौँ । नेपाल बार एशोसियसनले निर्वाचन तालिका सार्वजनिक गरेको छ । चैत १९ गते हुने निर्वाचनका लागि बारको निर्वाचन समितिले तालिका सार्वजनिक गरेको हो ।
तालिकाअनुसार फागुन १० गते मतदाता नामावली प्रकाशन गरिने छ । उक्त नामावलीउपर दाबी विरोध गर्नका लागि फागुन १३ गतेको समय दिइएको छ । १९ गते दाबी विरोधउपर जाँचबुझ गरी फागुन २० गते मतदाताको अन्तिम नामावली प्रकाशन गरिने तालिकामा उल्लेख छ ।
त्यस्तै उम्मेदवारी दर्ता मिति फागुन २३ गते तोकिएको छ । सो दिन बिहान ११ बजेदेखि दिउसो ३ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ ।
दाबी विरोध, जाँचबुझ र दोस्रो नामावली प्रकाशन फागुन २४ गते, नाम फिर्ता लिने र अन्तिम नामावली प्रकाशन २५ गते हुनेछ । मतदान चैत १९ गते बिहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म हुने निर्वाचन समितिले जनाएको छ ।
निर्वाचनबाट अध्यक्ष १, उपाध्यक्ष ८, महासचिव १, कोषाध्यक्ष १, सदस्यहरू १४ जना निर्वाचित हुनेछन् ।