नागरिक पोष्ट News


नागढुंगा–नौबिसे सुरूङ निर्माण द्रुत गतिमा अघि बढ्दै

581

काठमाडौँ । स्थानीय तहले राष्ट्रिय योजनालाई कार्यान्वयन गर्न सहजीकरण गरिदिएमा कति महत्वपूर्ण उपलब्धि हासिल गर्न सकिँदो रहेछ भन्ने पछिल्लो उदाहरण ‘नागढुंगा–नौबिसे सुरूङमार्ग आयोजना’ भएको छ ।

काठमाडौंको चन्द्रागिरि नगरपालिकाले सडक पूर्वाधारका क्षेत्रमा बहुप्रतिष्ठित सो आयोजनालाई अगाडि बढाउन सुरूवाती चरणदेखि निरन्तर स्थानीय तहमा आवश्यक सहयोग तथा समन्वय प्रदान गरेकै कारण सुरूङमार्ग निर्माणले अहिले द्रुत गति लिइरहेको छ । नगरपालिकाले काठमाडौं तर्फको आयोजना प्रभावितलाई मुआब्जा वितरण तथा अन्य गुनासा सम्बोधन गर्न सहजीकरण गरेको थियो ।

यो प्रक्रिया अहिले पनि जारी छ । नगर प्रमुख घनश्याम गिरीले भने, ‘नगरपालिकाको साथ र सहयोगको सुनिश्चिताले मात्र सुरूङमार्ग आयोजना कार्यान्वयनमा आएको हो । विशेष गरी सुरूङमार्ग बनाउन काठमाडौंतर्फको समस्या मेरो पहलबाट सम्बोधन हुँदै आएका छन् ।’

नगरपालिकाका वडा नं १, ३ ५, ७ र १२ का स्थानीयबासी आयोजनाबाट बढी प्रभावित छन् । उनीहरूलाई उचित मुआब्जा दिलाउन तथा आयोजना प्रभावित क्षेत्रमा खानेपानी तथा अन्य पूर्वाधारका विकास गराउन नगर प्रमुख गिरीले विशेष चासो र सक्रियता देखाएका थिए । सुरूङमार्ग बनाउन सरकारले अधिग्रहण गरेका जग्गामध्ये काठमाडौंमा २६७ र धादिङमा १०९ रोपनी पर्छ । तीमध्ये अधिकांशले मुआब्जा पाइसकेको बताइएको छ ।

उनले भने, ‘सुरूङमार्गको सम्भाव्यता अध्ययनदेखि नै स्थानीयबासीले आयोजनाका विरूद्धमा आवाज उठाउन थाले । आयोजना नै फिर्ता हुने त होइन भन्ने खतरा थियो । चन्द्रागिरि नगर तथा देशको प्रतिष्ठासँग गाँसिएको आयोजना कार्यान्वयन गर्नुपर्छ भन्ने मेरो दृढ मान्यता थियो । विकास गर्दा विनाश हुनसक्छ तर स्थानीयबासीलाई संलग्न गराएर गरिने विकास दीगो हुन्छ । यही मान्यतालाई कार्यान्वयन गर्न अहोरात्र ध्यान दिएँ । आयोजना प्रभावितका उचित मागलाई सम्बोधन गराउन संघीय सरकारसँग अनेकौ तह र चारणमा वार्ता गरें । प्राथमिकताका साथ पीडितका कुरा उठाएँ । उनीहरूलाई अधिकतम मुआब्जा दिलाउन सफल समेत भएँ । आयोजनालाई कार्यान्वयनमा उतार्न समन्वयकारी भूमिका निर्वाह गरेँ। संघीय सरकारले कार्यान्वयनमा ल्याएको आयोजनामा नगरपालिकाको भरपूर साथ र सहयोग मिलेको छ ।’

Must View