नागरिक पोष्ट News


दिनभर रणभूमि बन्यो बानेश्वर,  पक्राउ परेका १५ जना छुटे

784

काठमाण्डाै - अमेरिकी अनुदान सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विरोधमा आज आइतवार भएको प्रदर्शनका क्रममा पक्राउ परेका १५ जना छुटेका छन् । 

संसद् भवन नयाँ बानेश्वर परिसरमा प्रदर्शनका क्रममा उनीहरूलाई प्रहरीले दिउँसो पक्राउ गरेको थियो । प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारी दुवैतर्फ गरी केही व्यक्ति घाइते भएका छन् । नेपाल प्रहरीका प्रवक्ता एवम् वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) विष्णुकुमार केसीका अनुसार १० जना प्रहरी र केही प्रदर्शनकारी घाइते भएका हुन् । प्रदर्शनका क्रममा माअ‍ोवादी निकट अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहसहित केही आन्दोलनकारी घाइते भएका हुन् ।

प्रदर्शनकारीकाे भिड तितरबितर गर्न प्रहरीले रबरको गोली, अश्रु ग्यास, लाठी चार्ज र पानीको फोहाेरा प्रयोग गरेको थियो । प्रहरीले प्रदर्शनकारीलाई लखेटेर बिजुली बजार पुर्‍याए पनि उनीहरू फेरि बानेश्वर पुगेका थिए । आज दिनभरमा प्रदर्शनकारीले पटक–पटक निषेधित क्षेत्र तोडेका थिए । आज दिउँसो संसदमा एमसीसी टेबल भएसँगै काठमाण्डौमा आन्दोलन झनै चर्किएको हो ।

त्यसअघि बिहान १० बजेदेखि नै नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत दलका भातृ सङ्गठनले नयाँ बानेश्वरमा प्रदर्शन सुरु गरेका थिए । दिनभर तनावग्रस्त बानेश्वर क्षेत्र अहिले सामान्य भएको छ । साथै काठमाण्डौ उपत्यकामा अस्तव्यस्त यातायात पनि सामान्य भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । 

Must View