नागरिक पोष्ट News


धिताेपत्र बाेर्डको  अध्यक्षमा हमाल नियुक्त , भन्छन -  "शेयर बजारलाई सामान्य झट्काले प्रभाव नपार्ने बनाउँछु "

1.1K

काठमाण्डाै - नेपाल धिताेपत्र बाेर्डका अध्यक्षमा नियुक्त रमेश हमालले नेपालकाे शेयर बजारकाे विकास र विस्तारमा आफूले इमानदार प्रयास गर्ने बताउनुभएकाे छ । मन्त्रिपरिषद्को आज बिहीवारको बैठकले हमाललाई बोर्डको अध्यक्षका रूपमा नियुक्त गरेपछि उहाँले भन्नुभयाे, साना लगानीकर्ताको हित र बजारको विविधीकरण गर्न सक्दाे प्रयास गर्छु ।

नेपालको शेयर बजारलाई बलियो र सक्षम बनाउँदै अन्तर्राष्ट्रियस्तरको बनाउने आफ्नो सपना रहेको भन्दै उहाँले त्यसका लागि सहयोग गर्न सञ्चारमाध्यमलाई आग्रह गर्नुभयो । 

सामान्य झट्काले समेत प्रभाव पार्ने शेयर बजारलाई व्यवस्थित एवम् मर्यादित बनाउने र प्राकृतिक रूपमा चल्ने बनाउन प्रयास गर्ने नवनियुक्त अध्यक्ष हमालले बताउनुभयो । बजारको विविधीकरण नहुँदासम्म शेयर बजारले स्थायित्व पाउन नसक्ने भएकाले त्याे काममा आफू दत्तचित्त भएर लाग्ने उहाँको भनाइ छ । 

बोर्डका तत्कालीन अध्यक्ष भीष्मराज ढुङ्गाना एक सिमेन्ट कम्पनीको शेयर प्रकरणमा मुछिएपछि सरकारले उहाँलाई हटाएको थियो । पछिल्लो ६ महिनादेखि बोर्डको अध्यक्ष खाली थियो । अध्यक्ष नियुक्त नहुँदा शेयर बजारसम्बन्धी विभिन्न विषयगत र नीतिगत काममा अवरोध भइरहेको थियो । 

सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलको संयोजकत्वमा बोर्ड अध्यक्ष छनाेट समिति गठन गरेको थियो । समितिले तीन जनाको नाम प्रस्ताव गरेको थिया । त्यसमा डा गोपाल भट्ट, कृष्ण पोखरेल र हमालको नाम सिफारिस गरेको थियो । 

नवनियुक्त हमालले सरकारले दिएको जिम्मेवारीलाई पूर्णरूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

Must View