उड्डयनमन्त्री आलेको बदनाम गर्नेमाथि कडा कारबाही हुनुपर्छ : सचिवालय
काठमाडौँ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेविरुद्ध तथ्यहीन आरोप लगाएर बदनाम गराउन खोजिएको भन्दै उनको सचिवालयले आपत्ति जनाएको छ । निरन्तर रूपमा मन्त्री आले तथा नेकपा (एकीकृत समाजवादी) का नेताहरू विरुद्ध सामाजिक सञ्जालमा असभ्य टिप्पणी गरिएको भन्दै पर्यटनमन्त्री आलेका प्रमुख स्वकीयसचिव हेमन्त रेग्मीले विरोध जनाएका छन् ।
सार्वजनिक पदमा नहुँदाका बखत भएका अनौपचारिक एवं व्यक्तिगत विषयलाई अनधिकृत रूपमा बाहिर सार्वजनिक गरी मन्त्रीको छविमा आँच आउने काम गरिएको भन्दै दोषीमाथि कडा कारबाही गर्न स्वकीय सचिव रेग्मीले आग्रह गरेका छन् ।
मन्त्री आलेमाथि सुदूरपश्चिम प्रदेशको अछाम घर भई हाल भारतको मुम्बई बस्दै आएका जगत् ओलीको नामबाट निरन्तर रूपमा उनीमाथि ब्ल्याकमेल गर्ने, उनलाई उत्तेजित गर्ने र सोही विषयलाई सामाजिक सञ्जालमा राख्ने तथा धम्क्याउने काम भएको भन्दै सचिवालयले खेद प्रकट गरेको हो ।
मन्त्री आलेले पछिल्लो समय जनमुखी कार्य गरेर लोकप्रिय हुन थालेपछि अत्तालिएका केही व्यक्तिले मन्त्री आलेविरुद्ध षडयन्त्रपूर्वक उत्तेजित पार्न खोजिएको भन्दै त्यस्तो भ्रममा नपर्न आम जनसमुदायलाई आग्रह समेत गरेको छ ।