नागरिक पोष्ट News


१ कराेड ८० लाख मतदाता पुगेको  आयाेगको भनाई   

0.9K

काठमाण्डाै - निर्वाचन आयोगले आउँदाे वैशाख ३० गते हुने स्थानीय तह चुनावका लागि झन्डै १ करोड ८० लाख मतदाता हुने जनाएको छ ।

निर्वाचन आयोगले आज आइतवार पत्रकार सम्मेलन गरी २०७९ साल वैशाख २९ गतेलाई १८ वर्ष उमेर पुग्ने दिन मान्दा एक करोड ७९ लाख मतदाता कायम हुने अनुमान गरेको जानकारी दिएको हो । चुनाव हुने अघिल्लो दिनलाई १८ वर्ष पुग्ने अन्तिम दिन मान्दा झन्डै दुई लाख जना मतदाता थपिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।

यसअघि चुनावको मिति घोषणा भएको दिनलाई १८ वर्ष पुग्ने अन्तिम दिन मानिँदै आएको थियो । मतदान गर्न १८ वर्ष पुग्नुपर्ने व्यवस्था भए पनि आयोगले १६ वर्ष पुगेर नागरिकता बनाएका सबैको नामावली सङ्कलन गर्दै आएको छ । आयोगका अनुसार २०७४ सालको चुनावमा एक करोड ५४ लाख २७ हजार नाै सय ३८ जना मतदाता थिए । पाँच वर्षमा २५ लाख नयाँ मतदाता थपिएको देखिन्छ ।

पत्रकार सम्मेलनमा प्रवक्ता पौडेलले आयोगले चुनावसँग सम्बन्धित कामहरू अन्तिम मतदाता नामावली, निर्वाचन सामग्रीको व्यवस्थापन गर्ने र निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्ने काम भइरहेको जानकारी दिनुभयो ।

त्यस्तै चुनाव व्यवस्थापनका लागि आवश्यक पर्ने बजेटको तयारी अन्तिम चरणमा पुगेको आयोगले जनाएको छ । स्थानीय तह सदस्य चुनावमा निर्वाचन आयोगका लागि झन्डै १२ अर्ब रुपैयाँको बजेट आवश्यक पर्ने अनुमान गरिएअनुसार नेपाल सरकारसँग बजेट प्रस्तावसहित बजेट स्वीकृतिको प्रक्रियामा रहेको पनि निर्वाचन आयोगले जनाएको छ ।

यसैगरी आयोगले निर्वाचन आयोग र अन्तर्गत कार्यालयहरूको कार्यालय समय बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म कायम गरेको छ भने बिदाका दिनमा समेत नियमित कार्यसम्पादन गर्ने व्यवस्था मिलाएको पनि जनाएको छ । 

Must View