नागरिक पोष्ट News


आइतबार देखि चुनावबारे दैनिक ‘प्रेस ब्रिफिङ’    

735

काठमाण्डाै – निर्वाचन आयोगले आसन्न पालिका तहको चुनाव र आयोगका दैनिक गतिविधिबारे प्रत्येक दिन सञ्चार माध्यमलाई  जानकारी  गराउने भएको छ ।

कान्तिपथमा रहेकाे  आयोग परिसरको  मिडिया सेन्टरबाट फागुन १ गतेदेखि प्रत्येक दिन अपराह्न चार बजे प्रवक्ता– सञ्चारकर्मी भेट कार्यक्रम सञ्चालन हुनेछ । चुनावका सन्दर्भमा आयोगका दैनिक गतिविधि तथा चुनावसँग सम्वन्धित अन्य विषयमा सञ्चार माध्यमलाई सूचना सम्प्रेषण गर्ने उद्देश्यले “प्रेस मीट” गर्न लागिएको आयोगका प्रवक्ता शालीग्राम शर्माले नागरिक पोस्टलाई  जानकारी दिनुभयो ।

पालिका तहको चुना यसअघि नै आगामी वैशाख ३० गतेका लागि घोषणा भइसकेको छ ।  दैनिकरुपमा सञ्चारमाध्यम मार्फत सम्पूर्ण नेपालीलाई चुनाव गतिविधि अद्यावधिक गरी चुनाव वातावरण बनाउन आयोगलाई सहयोग गर्ने हेतुले प्रवक्ता सञ्चारकर्मी भेटघाट राखिएको उहाँले बताउनुभयो । दैनिकरुपमा हुने  प्रेस मीटले चुनाव सम्बन्धमा आउन सक्ने भ्रमपूर्ण विषयवस्तुलाई चिर्न समेत सहयोग पुग्नेछ । 

दैनिक प्रेस ब्रिफिङबाट समयको सही उपयोगका साथै सूचना प्राप्त गर्ने विषयमा हुन सक्ने अलमल अन्त्य हुने  विश्वास  प्रबक्ता शर्माको छ। 

निर्वाचनसँग सम्बन्धित सबै समाचार र सूचना तोकिएको समयमा एकै स्थानबाट सहजरुपमा उपलब्ध हुने जनाउँदै आयोगले दैनिकरुपमा हुने  प्रेस मीटमा उपस्थितिका लागि सबै सञ्चार गृह र सञ्चारकर्मीलाई आग्रह गरेको छ । आयोगले प्रेस मीट सम्बन्धी सूचना  वेबसाइटमा पनि राख्नेछ ।

Must View