नागरिक पोष्ट News


मतदाता नामावली संकलन आजदेखि स्थगित, कति पुगे मतदाता ?

1K

काठमाडौं - ३० वैशाखमा स्थानीय तहको निर्वाचनको मिति तय भएसँगै निर्वाचन आयोगले मतदाता नामावली संकलन पनि आजबाट स्थगित गरेकाे छ ।

निर्वाचन आचारसंहिताअनुसार देशभर मतदाता नामावली संकलन हुने कार्यालयलाई मंगलबारबाट मतदाता नामावली संकलन कार्य रोक्न र हालसम्मको विवरण पठाउन निर्देशन दिइएकाे आयोगका प्रवक्ता शालिकराम शर्माले जानकारी दिए । आयाेगले मतदाता नामावली प्रकाशनकाे तयारी गरेकाे छ ।

कानुनी व्यवस्थाअनुसार निर्वाचनको मिति घोषणापछि मतदाता नामावली संकलन गर्न पाइँदैन। सोहीअनुसार आयोगले उक्त कार्य रोकेको हो। निर्वाचनको मिति घोषणा भएपछि सोमबार दिउँसो आयोगमा बैठक बसेको थियो ।

आयोगले सोमबार विज्ञप्ति जारी गर्दै  आसन्न स्थानीय तहको निर्वाचनका सन्दर्भमा आवश्यक पर्ने भवन, परिवहनका साधन, फर्निचर वा अन्य भौतिक साधनको अवस्था तथा व्यवस्थापनका सन्दर्भमा सबै स्थानीय तहसँग विवरण मागका लागि समन्वय गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत पत्राचार गरिएको जनाएकाे छ । स्थानीय तह तथा जिल्ला समन्वय समितिको निर्वाचनको सञ्चालन तथा व्यवस्थापन गर्ने प्रयोजनार्थ करिब दुई महिना अवधिका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना र सञ्चालन गर्न  ७५३ वटै स्थानीय तहलाई पछि फरक नपर्ने गरी तयार गर्न लगाइ उक्त विवरण एकीकृत गरी माघ मसान्तभित्र अनिवार्य रुपमा आयोगमा उपलब्ध अनुरोध गरिएको छ ।

हालसम्म देशभर १ करोड ९० लाखजनाले मतदाता नामावलीमा नाम समावेश गराएको आयाेगकाे प्रारम्भिक तथ्यांक छ ।

Must View