नागरिक पोष्ट News


प्रेस चौतारीको २४ औँ स्थापना दिवसको अवसरमा एक दर्जनलाई पत्रकारीता पुरस्कार प्रदान गरिदै

1.4K

काठमाडौँ - काठमाडौँ प्रेस चौतारीको २४ औँ स्थापना दिवसको समारोहलाई सम्बोधन गर्दै राजनीतिक दलले निर्वाचनताका सार्वजनिक गर्ने चुनावी घोषणापत्रको कार्यान्वयन र प्रतिवद्धताबारेमा पत्रकारले कलम चलाउनुपर्ने नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेलले बताए । उनले राजनीतिक दललाई जिम्मेवार बनाउने कार्यमा पत्रकारले भूमिका खेल्नुपर्ने बताए । पत्रकारले तथ्यमा आधारित रहेर सत्य कुराको पहिचान गर्ने भूमिकामा सक्रिय हुनुपर्ने बताएका छन् ।

नेता पोखरेलले देशको आर्थिक समृद्धि तथा राष्ट्रिय स्वाभिमानको मुद्दामा पत्रकारले दवावमुलक अभियान चलाउन आवश्यक रहेको बताए ।

मुलुक निर्वाचनको दिशामा उन्मुख भइसकेकाले त्यसका लागि सबैले सकारात्मक दवाव दिनुपर्ने उनको भनाइ थियो ।

पोखरेलले निर्वाचन आयोगले निर्वाचनको मिति घोषणा गर्न आग्रह गर्दा पनि सरकारले घोषणा नगरेको बताए । सरकारले समयमा निर्वाचन मिति घोषणा नगरे एमालेले देशव्यापी शान्तिपूर्ण दवावको कार्यक्रम शुरु गर्ने उनले बताए । मुलुकलाई आर्थिक समृद्धितर्फ लैजान स्पष्ट योजनाका साथ अघि बढ्न सरकालाई सुझाव समेत नेता पोखरेलले दिएका छन् ।

एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले पत्रकारले धेरैको समाचार लेख्ने भएपनि पत्रकार स्वयम् समस्यामा पर्दा बोलिदिने कोही नहुँदा समस्या हुनेगरेको बताए । प्रेस चौतारी नेपाल व्यवसायिक पत्रकारको नेतृत्वकर्ता संगठन भएकाले यसको काम चुस्त र प्रभावकारी बनाउन उनले सुझाव दिए ।  

त्यस्तै प्रेस चौतारी नेपालले २४औं स्थापना दिवसका अवसरमा विभिन्न व्यक्तिलाई पुरस्कार दिने घोषणा गरेको छ । गत पुष १२ र १३ मा लुम्बिनीमा सम्पन्न संगठनको केन्द्रीय समितिद्वारा पूर्ववरिष्ठ उपाध्यक्ष श्रीधर आचार्यको संयोजकत्वमा गठित पाँच सदस्यीय पुरस्कार सिफारिस समितिको सिफारिसअनुसार उनीहरूलाई पुरस्कृत गर्ने निर्णय गरिएको हो ।प्रेस चौतारी नेपाल ०५५ सालमा स्थापना भएको हो । ७ मंसिर ०५५ मा वरिष्ठ पत्रकार विजय चालिसेको संयोजकत्वमा गठित संगठनले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता गरी प्रमाणपत्र प्राप्त गरेको दिन २२ माघलाई स्थापना दिवसका रुपमा मनाउँदै आएको छ । पुरस्कार महाधिवेशनको उद्घाटन समारोहमा नेकपा ९एमाले०का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबाट पुरष्कृत गर्ने कार्यक्रम छ ।

पुरस्कार पाउने व्यक्तिहरू यस प्रकार छन् ।

वि। सं। २०७७ हृदयचन्द्रसिंह प्रधान पत्रकारिता पुरस्कार राजेन्द्र अर्याल पूर्व अध्यक्ष

अग्निशिखा स्मृति पत्रकारिता पुरस्कार कृष्णविनोद लम्साल सुनसरी

वीरेन्द्रकुमार साह क्रियाशील पत्रकारिता पुरस्कार केपी गौतम गोरखापत्र

डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार सागर पण्डित सम्पादक, राजधानी दैनिक

प्रेस चौतारी पद्मलक्ष्मी–सावित्री वस्नेत स्मृति पत्रकारिता पुरस्कार अब्दुल्लाह मियाँ काठमाडौं

वि। सं। २०७८ हृदयचन्द्रसिंह प्रधान पत्रकारिता पुरस्कार गगन विष्ट पूर्व अध्यक्ष

अग्निशिखा स्मृति पत्रकारिता पुरस्कार झलक सुवेदी लेखक तथा राजनीतिक विश्लेषक

वीरेन्द्रकुमार साह क्रियाशील पत्रकारिता पुरस्कार अनुप तिवारी पर्सा

डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार हिरा परियार रुकुम पश्चिम

प्रेस चौतारी पद्मलक्ष्मी–सावित्री वस्नेत स्मृति पत्रकारिता पुरस्कार शिवराज भट्ट कैलाली

चन्द्र न्यौपाने –शान्तिराम कार्की स्मृति पत्रकारिता पुरस्कार शान्ति गुरुङ कास्की

 संगठनका अध्यक्ष गणेश बस्नेतको सभापतित्वमा भएको कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष डा. महेन्द्र विष्ट, महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, प्रेस चौतारी नेपालका पूर्व अध्यक्ष गगन विष्ट, फोनिजका अध्यक्ष डण्ड गुरुङ, नेपाल प्रेस युनियनका कोषाध्यक्ष सरोज अधिकारीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

Must View