कोरोना सङ्क्रमणले बढायो कुरिलोको माग : भाउ किलोको चार हजार रुपैयाँ
काठमाण्डौ - काठमाण्डौका मुख्य बजार कालीमाटीसहित विभिन्न तरकारी बजारमा यो वर्ष कुरिलोको मूल्य बढेको छ ।
अघिल्लो वर्षसम्म खुद्रामा किलोको एक हजार रुपैयाँसम्ममा बिक्री हुँदै आएको कुरिलोको मूल्य यसपालि बढेको छ ।
कुरिलो आज किलोको ४ हजार रुपैयाँमा बिक्री भइरहेको व्यापारीहरुले बताएका छन् । अहिले बजारमा कुरिलो अभाव रहेको कालीमाटीका व्यापारी राजन भेसवालले बताउनुभयो ।
केही दिनदेखि बजारमा कुरिलो नै पाइएको छैन यसले गर्दा उपभोक्ता किन्न आए पनि बजारमा कुरिलोको अभाव भएकाले बेच्न नपाएको व्यापारी भेसवालको भनाइ छ ।
कोरोना सङ्क्रमितले कुरिलो माग गर्ने भएकाले अहिले माग बढेको तर कुरिलोको अफसिजन भएकाले अभाव छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले हरेक दिन अपडेट गर्ने मूल्य सूचीमा कुरिलोको मूल्य अपडेट छैन । बजारमा मूल्य बढेपछि व्यापारीले ‘दुई–चार मुठा ल्याएर बेच्ने, ठूलो परिमाणमा बिक्री वितरण नगर्ने भएकाले अपडेट नगरिएको समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताउनुभयो । अहिले बजारमा आएको कुरिलो स्थानीय उत्पादन नभएकाले मूल्य बढेको हुनसक्ने श्रेष्ठको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘व्यापारीले भारत र थाइल्यान्ड लगायतका देशबाट ल्याएर बेच्ने गरेका छन् ।’ राष्ट्रिय आलु, तरकारी तथा मसला बाली विकास केन्द्रका अनुसार नेपालमा वार्षिक ११ लाख ५२ हजार किलो कुरिलो उत्पादन हुने गरेको छ ।
भोजपुर, खोटाङ, ओखलढुङ्गा, झापा, मोरङ, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, भक्तपुर, ललितपुर, काठमाण्डौ, नुवाकोट, धादिङ, लमजुङ, तनहुँ, कास्की, पर्वत, नवलपुर, दाङ, बाँके, बर्दिया, गुल्मी, नवलपरासी, प्युठान, जाजरकोट लगायत कर्णालीको केही क्षेत्रसमेत कुरिलो उत्पादन हुने गरेको छ ।
तीमध्ये सबैजसो स्थानीय बजारमा खपत हुन्छ भने उपत्यकाबाट नजिक रहेका जिल्लाको उत्पादन कालीमाटी बजार आइपुग्ने गरेको व्यापारीहरुको भनाइ छ।