युरोप पठाइदिन्छु भन्दै ठगी गर्ने रामेछापका एक युवक पक्राउ
- पुष्कर खड्का, रामेछाप ।
रामेछापको गोकुलगंगा गाउँपालिकाका एक युवकले युरोपियन मुलुक ‘लिथुनिया पठाउँछु’ भनेर ठगेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोकुलगंगा गाउँपालिका वडा नम्बर ३ स्थाई घर भई हाल काठमाडौ ३२ कोटेश्वर बस्ने वर्ष ३३ का पोश बहादुर सुनुवार रहेकाछन् । सुनुवारले काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका वडा नम्बर ९ ज्याम्दी घर भएका प्रेम कुमार लामा (दोङ सहित ६ जनालाई ‘वर्किङ भिसामा लिथुनिया पठाउँछु’ लिथुनिया पुगेपछि प्रतिष्ठान होटलमा काम लगाईदिन्छु भनि विश्वास दिलाई प्रलोभमा पारी ठगी गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ । लिथुनिया जान प्रतिव्यक्ति ७ लाख लाग्छ भनेका सुनुवारले प्रतिव्यक्ति १ लाख लिएपछि सम्पर्क विहिन भएका थिए । महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले उनलाई काठमाडौं–३२ कोटेश्वरबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान र कारवाहीका लागी वैदेशिक रोजगार विभाग, बुद्धनगरमा पठाइएको महाशाखाले जनाएको छ ।