नागरिक पोष्ट News


सरकार स्थानीय तहको निर्बाचन सार्ने मोडमा , मन्त्री श्रेष्ठले गरे यस्तो खुलासा   

0.9K

नागरिक पोस्ट सम्बाददाता , काठमाण्डाै - सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले स्थानीय तहको चुनाव ६ महिना पछि सर्ने संकेत गर्नुभएको छ । 

आज बुधवार काठमाण्डौमा एक साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले तीन चरणमा भएको चुनावबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल पाँच वर्ष नपुग्ने भएकाले स्थानीय तहको चुनाव महिना पछि धकेल्न सकिने बताउनुभएको हो । जनप्रतिनिधिले आफूहरूले पूरा कार्यकाल चलाउन पाउनुपर्ने माग राखिरहेको भन्दै उनीहरूको माग अघि नै स्थानीय तहको चुनावकाे मिति घोषणा गर्न नमिल्ने तर्कसमेत उहाँले गर्नुभयो । कार्यकाल सकिएको ६ महिनाभित्र चुनाव गर्ने भनिएमा सबैको कार्यकाल पनि सकिने र पहिलो चुनावकाे मितिले ६ महिनाभित्र पनि पर्ने हुनाले त्यसरी नै चुनावकाे मिति निर्धारण गर्दा सबैलाई मिल्ने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘निर्वाचित जनप्रतिनिधिहरूले आफूहरूकाे कार्यकाल पाँच वर्षको हुनुपर्छ भनिरहेका छन् । यस्तो स्थितिमा सही समाधान कसरी दिने त भन्ने सन्दर्भमा हामीले अहिले बहस गरिरहेका छौँ । यसबारेमा विभिन्न विज्ञ, कानुन व्यवसायीसँग छलफल गरिरहेका छौँ । तर सबैको पाँच वर्ष पनि पुग्ने र पद रिक्त पनि नहुने, साँप पनि मरोस्, लाठी पनि नभाँचोस् त्यस्तो हुन सकोस् भन्नका लागि कसैको पनि पाँच वर्षभन्दा कम पनि नहोस्, सबैले पाँच वर्ष पूरा गर्न पनि पाओस् । । कार्यकाल सकिएको ६ महिनाभित्र भनेपछि ६ महिना नै हुनुपर्छ भन्ने भएन, त्यस हिसाबले सबैको कार्यकाल सकिने तर ६ महिनाभित्र पनि पर्ने मिति निर्धारण गर्‍याैँ भने यो सबैलाई मिल्ने हुन्छ भन्ने मलाई लागेको छ ।’

मन्त्री श्रेष्ठले निर्वाचनको मिति तोक्ने विषयमा गठबन्धनमा छलफल भइरहेको बताउनुभयो । प्रधानमन्त्रीले तोकेकै मितिमा चुनाव हुने उहाँले दाबी गर्नुभयो । उहाँले कतिपय व्यक्तिले सत्तारुढ गठबन्धनको फुटको कामना गरिरहेको भए पनि गठबन्धन नफुट्ने दाबी गर्नुभयो । चुनावअघि वा चुनाव पछिसम्म नै कुनै न कुनै रूपको गठबन्धन कायमै रहने उहाँले स्पष्ट पार्नुभयो । 

मन्त्री श्रेष्ठले जुनसुकै समयमा चुनाव गरे पनि वर्तमान सत्ता गठबन्धन पक्षधरहरूको दुई तिहाइ बहुमत आउने दाबीसमेत गर्नुभयो । गठबन्धनका लागि जुनसुकै समयमा चुनाव गरे पनि प्रतिकूलता नरहेको उहाँले जिकिर गर्नुभयो । 

Must View