नागरिक पोष्ट News


कोरोना संक्रमणको हटस्पट बन्यो काठमाडौं

644

काठमाडौं । काठमाडौं उपत्यका कोरोना भाइरस (कोभिड-१९) संक्रमणको हटस्पट बनेको छ । आइतबार देशभरमा ४९६१ जनामा कोरोना संक्रमण पुष्टि भयो, त्यसमध्ये दुई तिहाइभन्दा बढी काठमाडौं उपत्यकाका मात्रै छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार १५१३१ नमुना (पीसीआर र एन्टिजेन) परीक्षण गरिएको थियो । १२,५६२ नमुनाको पीसीआर परीक्षण गर्दा ४५३४ र २५६९ नमुनाको एन्टिजेन परीक्षण गर्दा ४२७ जनामा संक्रमण देखिएको छ । नयाँ संक्रमितमध्ये ३३४७ जना काठमाडौं उपत्यकाका छन्, जुन आइतबार पहिचान भएका संक्रमितको दुई तिहाइभन्दा बढी हो । उपत्यकामा पनि सबभन्दा धेरै २५४५ जना काठमाडौंका छन् । भक्तपुरमा ३२८ र ललितपुरमा ४७४ जना छन् । कोरोनाको सम्भावित तेस्रो लहरले काठमाडौं उपत्यका कोरोनाको ‘हटस्पट’ बन्दै गएको बताउँछन्, संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन । ‘पहिलो लहरमा वीरगञ्ज संक्रमणको हटस्पट बन्यो । दोस्रोमा बाँकेको नेपालगञ्ज । तर तेस्रो लहरमा काठमाडौं उपत्यका संक्रमणको ‘हटस्पट’ बन्दै गएको देखिन्छ’ उनले भने । ओमिक्रोन आफैंमा बढी संक्रामक भाइरस हो र जनघनत्वको हिसाबले सबभन्दा घना शहर उपत्यका हो । डा. पुन भन्छन्, ‘जनघनत्व बढी भएको ठाउँमा जनस्वास्थ्यको मापदण्ड पालनामा बेवास्ता हुँदा संक्रमण तीव्र रुपमा फैलने नै भयो ।’ काठमाडौंमा विभिन्न राजनीतिक दलको सम्मेलनका कारण भीडभाड बढ्न जाँदा ओमिक्रोनको संक्रमण ‘साइलेन्स’ रुपमा फैलिएको हुन सक्ने उनी बताउँछन् । पछिल्लो समय राजनीतिक दलका ठूला नेताहरुलाई नै संक्रमण देखिनुले पनि राजनीतिक दलको सभासम्मेलनमै संक्रमण साइलेन्स रुपमा घुमिरहेको थियो भन्ने पुष्टि गरेको डा. पुन बताउँछन् । 

Must View