नागरिक पोष्ट News


कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’सहितको तेस्रो लहरले पुनःसुस्ताउदै

546

काठमाडौं। कोभिड महामारीको असरबाट विस्तारै लयमा फर्किंदै गरेको नेपालको पर्यटन क्षेत्र कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’सहितको तेस्रो लहरले पुनः सुस्ताउन थालेको छ । पर्यटन क्षेत्रले लय लिँदै गर्दा ओमिक्रोन भेरियन्ट संक्रमण बढेसँगै पर्यटन क्षेत्र प्रभावित भएको छ ।

पछिल्ला दिनमा निरन्तर बढिरहेको संक्रमणले व्यवसायी मात्रै होइन, आम सर्वसाधारणलाई चिन्तित तुल्याएको छ । महामारीको प्रतिकूल परिस्थितिका बीच स्वास्थ्य मापदण्ड पालना गरेर पर्यटन व्यवसाय चलायमान बनाउन व्यवसायीले माग गरेका छन् । कुल जनसंख्यामध्ये आधाभन्दा बढीले कोभिडविरुद्धको खोप लगाएको र पछिल्लो भेरियन्ट ‘डेल्टा’जस्तो खतरनाक नभएको विज्ञले बताइरहेका छन् । तथापि, नयाँ भेरियन्टले चाँडो संक्रमण फैलने र माघको मध्यतिर अस्पतालमा बिरामीको चाप बढ्ने विज्ञको भनाइ छ ।

कोभिड संक्रमितको ग्राफ हेर्दा पछिल्ला १० दिनमा अत्यधिक संख्यामा संक्रमित बढेका छन् । पुसको तेस्रो साता झन्डै ३०० हाराहारी संक्रमित रहेकोमा पुस मसान्तसम्म पुग्दा पाँच हजार नाघिसकेको छ ।

पछिल्ला दिनमा कोरोना भाइरस संक्रमितको संख्या ह्वात्तै बढेपछि महामारी नियन्त्रणका लागि सरकारले सरोकारवाला निकायसँग छलफल गरिरहेको छ । यसै सन्दर्भमा पर्यटन क्षेत्रका व्यवसायीले स्वास्थ्य मापदण्डको पालना गरेर व्यवसायलाई निरन्तरता दिन माग गरेका हुन् । साथै उनीहरूले कोरोना संक्रमण भन्दै हठात् लकडाउन गर्ने जस्ता कार्यक्रमले विगतमा पर्यटन धराशयी भएको भन्दै त्यस्ता निर्णय नगर्न पनि सरकारसँग अनुरोध गरेका छन् ।

संक्रमण बढ्दै जाँदा सचेतना अपनाउने तथा खोपलाई प्रभावकारी बनाउँदै पर्यटनलाई चलायमान बनाउनुपर्ने व्यवसायीको सुझाव छ । होटल संघ नेपाल (हान)का प्रथम उपाध्यक्ष विनायक शाहले स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरेर व्यवसायलाई निरन्तरता दिनुपर्ने बताए । ‘संक्रमण बढे पनि एक्कासि बन्दाबन्दी गर्नु हुँदैन । मापदण्ड अपनाएर व्यवसाय सञ्चालन गर्न दिनुपर्छ, अत्यधिक संक्रमण बढेका विश्वका अन्य मुलुकले पनि यही अभ्यास गरिरहेका छन्,’ उनले भने । स्वास्थ्य र आर्थिक क्षेत्रलाई कसरी अघि बढाउने भन्ने सम्बन्धमा सरकार र निजीक्षेत्रको समन्वयका साथ प्रभावकारी कदम अविलम्ब अघि बढाइनुपर्ने उपाध्यक्ष शाहको भनाइ छ ।

नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष अच्युत गुरागाईंले कोभिडविरुद्ध बुस्टर खोप बढाउन र स्वास्थ्य मापदण्डको पालना गर्दै पर्यटनलाई चलायमान बनाउनुको विकल्प नरहेको बताए । कोभिड–१९ का अघिल्लो लहरजस्तो यो पटकको भेरियन्ट बढी घातक नभएको विज्ञले बताइरहेको र खोपको मात्रा बढेर स्वास्थ्य मापदण्डको पालनामा पनि विशेष ध्यान दिइरहेको अवस्था भएकाले तत्कालै बन्दाबन्दीमा नगरेर पर्यटन क्षेत्रलाई सञ्चालन गरिनुपर्ने नेपाल पर्वतारोहण संघ (एनएमए)का महासविच कुलबहादुर गुरुङले बताए ।

Must View