नागरिक पोष्ट News


सरकारले वैदेशिक लगानीको वातावरण सहज बनाएको छ : अर्थमन्त्री शर्मा

574

काठमाण्डौँँ - अर्थमन्त्री जनार्दन शर्माले सरकारले वैदेशिक लगानीको वातावरण सहज बनाइरहेको बताउनु भएको छ । शर्माले संसारभरी बसोबास गर्ने प्रवासी नेपालीलाई नेपालमा डलर खाता खोलेर नेपालको समृद्धिमा योगदान गर्न र आफैँ लाभान्वित हुन समेत आग्रह गर्नुभयो ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) युके, अमेरिका, अष्ट्रेलिया लगायत एनसिसीहरूले सोमबार आयोजना गरेको वेबिनारलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले एनआरएनले विदेशी मुद्रामा नेपालमा खाता खोल्दा राष्ट्रमा लगानी र रोजगारी बढ्ने बताउनु भयो ।

यसअघि रहेको १० हजार डलरलाई घटाएर पाँच हजार डलर पुर्याएको, दुई वर्षलाई घटाएर एक वर्ष गरेको, केही बैंकहरूले विदेशी मुद्रामा खाता खोल्न सुरु गरिसकेको र यो प्रावधान विदेशमा हुर्किरहेकाले दोस्रो पुस्तलाई नेपालसँग जोड्ने माध्यम बन्ने आशा व्यक्त गर्नुभयो । अर्थसचिव मधु मरासिनीले यसभन्दा पहिला पनि डलरमा खाता खोल्न पाइने तर यसपटक सरकारले त्यसलाई सहजीकरण गरेको बताउनु भएको हो ।

सचिव मरासिनीले यसरी जम्मा भएको रकमले नेपालमै रोजगारी सिर्जना गर्न मद्दत पुग्ने, स्वदेशी उत्पादनका लागि लगानी बढाउन उपयोग गर्ने उद्देश्य रहेको बताउनु भयो । एनआरएनएका अध्यक्ष कुमार पन्तले नेपाल सरकारले ल्याएको नयाँ सुविधाका लागि सरकारलाई धन्यवाद दिँदै यसले संसारभरका नेपालीलाई नेपालमा खाता खोलेर आफूसँग रहेको बचत नेपाल भित्र्याउन सहज हुने विश्वास समेत व्यक्त गर्नुभयो ।  

Must View