काँग्रेस महामन्त्रीमा विश्वप्रकाश शर्मा र गगन थापा निर्वाचित
काठमाडौँ - नेपाली काँग्रेसको महामन्त्री पदमा युवा नेताहरु विश्वप्रकाश शर्मा र गगनकुमार थापा निर्वाचित भएका छन् । काँग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार थापाले ३,०२३ र विश्वप्रकाश शर्माले १,९८४ मत पाएर निर्वाचित भएका हुन् ।
त्यस्तै, डा. प्रकाशशरण महतले १,५५०, प्रदीप पौडेलले १,४०९, डा. मिनेन्द्र रिजालले ८०९ र राजाराम कार्कीले १०७ मत पाए । यद्यपि आधिकारिक रुपमा घोषणा भने गरिएको छैन ।
कांग्रेसको विधानबमोजिम महाधिवेशनबाट दुई जना महामन्त्री निर्वाचित हुन्छन् । तर, महामन्त्रीमा ६ जनाबीच प्रतिस्पर्धा भएको थियो ।
सभापति शेरबहादुर देउवा समूहबाट डा. प्रकाश शरण महत र प्रदीप पौडेलले प्रतिस्पर्धा गरेका थिए भने डा. शेखर कोइराला समूहबाट गगन थापा र मिनेन्द्र रिजाल मैदानमा उत्रिएका थिए ।
त्यस्तै प्रकाशमान सिंह समूहबाट विश्वप्रकाश शर्मा र विमलेन्द्र निधि समूहबाट डा. राजाराम कार्की महामन्त्रीको उम्मेदवार बनेका थिए ।
यसअघि सभापति र उपसभापतिको नतिजा आइसकेको छ । जस अनुसार सभापतिमा शेरबहादुर देउवा र उपसभापतिमा पूर्णबहादुर खड्का तथा धनराज गुरुङ निर्वाचित भएका छन् ।