नागरिक पोष्ट News


नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित, को हुन् देउवा ?

1.5K

काठमाण्डौ - नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट शेरबहादुर देउवा सभापतिमा निर्वाचित हुनुभएको छ ।  

मंगलबार भएको दोस्रो चरणको मतदानमा डा. शेखर कोइरालालाई पराजित गर्दै देउवा दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित हुनुभएको हो । यसअघि २०७२ मा भएको १३औं महाधिवेशनमा पनि उहाँ दोस्रो चरणको मतदानबाटै सभापतिमा निर्वाचित हुनुभएको थियो ।  देउवाले २ हजार ७३३ मत ल्याउनुभयो। यस्तै शेखर कोइरालाले १ हजार ८५५ मत ल्याउनुभयो भने ३५ मत बदर भएको छ । दोस्र‍ो चरणमा ४ हजार ६२३ प्रतिनिधिले मतदान गरेका थिए । 

कुल ४ हजार ७४३ महाधिवेशन प्रतिनिधिमध्ये पहिलो चरणमा ४ हजार ६६९ जनाले मतदान गरेका थिए । तर सभापतिका पाँचमध्ये कुनै पनि उम्मेदवारले बहुमत ल्याउन सकेनन् ।

सबभन्दा धेरै मत पाएका देउवाले २ हजार २५८ र शेखरले १ हजार ७०२ मत पाएका थिए । प्रकाशमान सिंहले ३७१, विमलेन्द्र निधिले २५० र कल्याण गुरुङले २२ मत पाएका थिए । दोस्रो चरणको चुनावमा सिंह, निधि र गुरुङले देउवालाई समर्थन गरेका थिए ।

कांग्रेसमा यसपटक नेतृत्व परिवर्तनको मुद्दा उठे पनि त्यसो हुन सकेन । संस्थानपन इतर समूह पहिलो चरणमा तितरबितर हुँदा र दोस्रो चरणमा शेखरबाहेकका अरु नेता देउवातिर उभिंदा दोस्रो चरणमा देउवाको सहज जित भएको हो ।

को हुन् देउवा ?

२००३ सालमा डडेलधुरामा जन्मिएका देउवा विद्यार्थी कालदेखि कांग्रेसको राजनीतिमा सक्रिय भएर लागेका थिए । नेपाल विद्यार्थी संघको (दोश्रो) महाधिवेशनबाट अध्यक्ष चयन भएका देउवा २०४६ सालपछिका तीनवटै संसदीय निर्वाचन र दोश्रो जनआन्दोलनपछिका दुईवटै संविधानसभा चुनावमा लगातार विजयी हुँदै आएका छन् । देउवा गृहमन्त्री हुँदै २०५२ सालमा पहिलो पटक प्रधामन्त्री बनेका थिए ।

२०५२ सालमा एमाले नेता मनमोहन अधिकारी नेतृत्वको अल्पमतको सरकार ढलेपछि उनी पहिलोपटक प्रधानमन्त्री बनेका थिए । देउवा पाँचौं पटक देशको प्रधानमन्त्री बनेका छन् । पछिल्लो पटक उनी केपी शर्मा ओलीको बहिर्गमनपछि गठबन्धनको नेतृत्व गर्दै प्रधानमन्त्री बनेका हुन् ।

गिरिजाप्रसाद कोइरालासँगको अन्तर्द्वन्द्वका कारण उनले २०५९ सालमा नेपाली कांग्रेससलाई फुटाएर नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन गरेका थिए । २०६२/६३ सालको जनआन्दोलनपछि २०६४ सालमा देउवाको उक्त पार्टी फेरि नेपाली कांग्रेसमा एकीकृत भएको थियो ।

त्यसपछि देउवाले पार्टीमा आफ्नो प्रभाव बढाउँदै लगे । कोइराला परिवारको बोलावाला रहेको कांग्रेसमा उनी लगातार दुई पटक विजयी हुँदै सभापति निर्वाचित भएका छन् ।

देउवाले त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर तथा कानुनमा स्नातक गरेका छन् । सन् १९८९ देखि १९९० सम्म उनी लन्डन स्कूल अफ इकनिमिक्समा राजनीतिशास्त्रको रिसर्च फेलो रहेका थिए । 

Must View