नागरिक पोष्ट News


पार्टी अस्तव्यस्त ढङ्गले चल्न थाल्याे भने सशक्त प्रतिवाद गर्ने पराजय पश्चात  कोइरालाको चेतावनी   

770

काठमाण्डौ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी सभापतिमा भएको पराजयलाई आफूले स्वाभाविक रूपमा लिएको बताउनुभएको छ ।  

पार्टीको १४ औँ महाधिवेशनमा सभापति पदमा पराजित भएपछि आज बुधवार काठमाण्डाैमा आयोजित आफ्ना विचार समूहका नेता, कार्यकर्ताकाे भेलामा बोल्दै उहाँले सभापति देउवा स्वस्थ प्रतिस्पर्धाबाट सभापति बन्नुभएको उल्लेख गर्दै कार्यकालको पूर्ण सफलताको कामनासमेत गर्नुभयो । 

नेता कोइरालाले नवनिर्वाचित पार्टीका सभापति देउवालाई विगतमा जसरी बेथितिका साथ पार्टी चलाए सशक्त प्रतिवादमा उत्रने चेतावनीसमेत दिनुभयो । आफूले सभापतिमा भएको पराजयबाट कुनै कुण्ठा नलिएको भन्दै उहाँले यस महाधिवेशनबाट आफ्ना विचार समूहको विचारको जित भएको बताउनुभयाे ।  

नेता कोइरालाले महाधिवेशनले आफूलाई जनताको घरदैलोमा जाने सन्देश दिएको उल्लेख गर्दै आजैदेखि उनीहरूको घरदैलोमा पुगेर आउँदाे महाधिवेशनमा आफ्नो विचार समूहलाई विजयी बनाउने विश्वाससमेत व्यक्त गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘सबैभन्दा पहिले त सभापतिमा विजयी शेरबहादुरजीलाई बधाई दिन चाहन्छु । साथै उहाँको चार वर्षको कार्यकालको सफलताको पनि कामना गर्दछु । उहाँसँगको प्रतिस्पर्धा नेपाली कांग्रेसको आन्तरिक लोकतन्त्र हो । स्वस्थ प्रतिस्पर्धाबाट उहाँ विजयी हुनुभएको छ । विजयी भइसकेपछि अब उहाँको टिम कस्तो आउँछ, हाम्रा साथीहरू कति जनाले जित्नुहुन्छ ? त्यो त मतगणना पछि निर्णय गर्नेछ । तर जसरी साढे पाँच वर्ष पार्टी बेथितिको हिसाबले चल्यो, त्यसैगरी चल्न थाल्यो भने हामी सशक्त रूपले प्रस्तुत हुनेछौँ । म पराजय भएँ । निर्वाचन भइसकेपछि कोही जित्छ, कोही हार्छ । त्यो स्वाभाविक हो । मैले यसलाई एकदमै स्वाभाविक रूपमा लिएको छु ।’   

नेता कोइरालाले आफूलाई माया, इज्जत, मान र प्रतिष्ठा दिएको भन्दै महाधिवेशनका प्रतिनिधिप्रति आभार व्यक्त गर्दै आउँदा दिनमा त्यो मायालाई कहिल्यै नबिर्सने बताउनुभयो । 

Must View