नागरिक पोष्ट News


भेरी बबई आयोजनाको काम तेस्रो चरणमा

707

काठमाडौं - राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाले दोस्रो चरणको सिभिल निर्माणसँगै हाइड्रोमेकानिकल (एचएम) र इलेक्ट्रोमेकानिकल (इएम)सम्बन्धी कार्य सुरुआत गरेको छ । आयोजनाले हाइड्रोमेकानिकलतर्फ खरीद सम्झौता भइसकेको र इलेक्ट्रोमेकानिकलतर्फ बोलपत्र प्रक्रियामा रहेको जनाएको छ ।

आयोजनाका सूचना अधिकारी एवं सिनियर डिभिजनल इन्जिनियर लेखनाथ सुवेदीले बाँध र विद्युत्गृहका लागि आवश्यक पर्ने हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकलतर्फका खरिद व्यवस्थापन समयमै हुने बताए । उनका अनुसार दोस्रो चरणअन्तर्गत हाल सिभिलतर्फका काम भइरहेका छन् । तेस्रो चरणमा हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकलसम्बन्धी कार्य पर्दछन् । सिभिल संरचनाअन्तर्गत हेडबक्स, पावर हाउस (विद्युत्गृह), बाँध (कफर ड्याम) र सर्ज साफ्टलगायतका कार्यहरू पर्दछन् ।

आयोजनाको कूल लागत ३६ अर्ब ८० करोड ७७ लाखमध्ये हालसम्म १४ अर्ब सात करोड ५९ लाखर कम खर्च भइसकेको छ । आयोजनाले कात्तिक महिनासम्म वित्तीय प्रगति ३८.२४ तथा भौतिक प्रगति ४९ प्रतिशत हासिल भएको जनाएको छ । सरकारले आयोजनाका लागि चालु आवमा पुँजीगततर्फ विनियोजन गरेको बजेट तीन खर्ब चार करोड छ लाखमध्ये १० करोड ९१ लाख ७० हजार मात्र खर्च भएको छ । आयोजनाका सूचना अधिकारी सुवेदीले आयोजना प्रभावित क्षेत्रमा पर्ने ऐलानी जग्गाको विवाद पनि टुंगिएको बताए ।

सुर्खेतको भेरीगंगा नगरपालिका–५ चिप्लेमा भेरीको पानी बबईमा खसाल्न छ गेजसहितको ब्यारेज निर्माण गर्न लागिएको हो । उक्त ब्यारेज ११४ मिटर लामो र १४ मिटर अग्लो हुनेछ । त्यहाँबाट १२ किमी २१० मिटर लामो सुरुङमार्फत भेरी गंगा नगरपालिका–११ हात्तीखालमा भेरीको पानी बबई नदीमा खसालिनेछ, जहाँ ४८ मेगावाट क्षमताको विद्युत् उत्पादन गरिनेछ ।

Must View