नागरिक पोष्ट News


कांग्रेसको १४ औं महाधिवेशन आजबाट सुरु हुँदै

637

काठमाडौं - नेपाली कांग्रेसको १४ औं महाधिवेशन आजबाट काठमाडौंमा सुरु हुँदैछ । ‘उत्साह, एकता, रूपान्तरण स् सफल बनाऔं १४औं महाधिवेशन’ भन्ने मूल नाराका साथ आज दिउँसो १ बजे भृकुटीमण्डपमा महाधिवेशन उदघाटन हुन लागेको हो ।

उदघाटन समारोहलाई देशका प्रमुख पार्टीका नेता, विदेशी प्रतिनिधि र कांग्रेसका शीर्ष नेताले सम्बोधन गर्ने कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । कोरोना संक्रमणको जोखिमका कारण कांग्रेसले यसपटक उदघाटन समारोहमा धेरै मानिसहरु उतारेको छैन । काठमाडौं उपत्यका भित्रका र स्वतःस्फूर्त काठमाडौंमा आएकाहरुमात्र उदघाटन समारोहमा सहभागी हुने कांग्रेसले जनाएको छ ।

तीन दिनसम्म चल्ने महाधिवेशनमा सहभागी करिब चार हजार तीन सय प्रतिनिधिहरुले कांग्रेसको केन्द्रीय नेतृत्व चयन गर्नेछन् । कांग्रेस विधान अनुसार एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्रीका लागि निर्वाचन हुनेछ । त्यस्तै ३५ खुला केन्द्रीय सदस्य, ९ महिला केन्द्रीय सदस्य, प्रत्येक प्रदेशबाट एक महिलासहित २१ केन्द्रीय सदस्य र विभिन्न समावेशी समूह अन्तर्गत ५६ जना केन्द्रीय सदस्यका लागि निर्वाचन हुनेछ । सभापतिले ३३ जना केन्द्रीय सदस्य मनोनित गर्ने विधानको व्यवस्था छ भने कोषाध्यक्ष निर्वाचित केन्द्रीय सदस्यहरुबाट चयन हुनेछन् ।

कांग्रेसको बन्दसत्र र निर्वाचन प्रक्रिया आजैबाट सुरु हुनेछ । शनिबार उम्मेदवारी टुंगिएपछि आइतबार मतदान र मतगणनाको कार्यक्रम छ । भृकुटीमण्डप, नेपाल पुलिस क्लब र राष्ट्रिय सभागृहमा मतदान हुनेछ ।

कांग्रेसमा अब कस्तो नेतृत्व आउला भन्ने चासो धेरैको छ, तर कांग्रेसभित्र भने उम्मेदवारको टुंगो अझै लाग्न सकेको छैन । संस्थापन समूहबाट शेरबहादुर देउवा सभापतिको उम्मेदवार हुने भए पनि संस्थापनइतर समूहबाट उम्मेदवार टुंगो लागेको छैन । संस्थापनइतर समूहका प्रकाशमान सिंह र डा. शेखर कोइराला आ–आफ्नो अडानमा टसमस नभएपछि उम्मेदवार चयन गर्न सकस परिरहेको छ ।

विगतका महाधिवेशनमा जस्तो यसपटक पार्टीको नीति तथा कार्यक्रममा छलफल गरेर अनुमोदन हुनेछैन । आन्तरिक विवादका कारण पटक–पटक महाधिवेशनको कार्यतालिका प्रभावित भएकाले कांग्रेसले यसपटक नेतृत्व चयन र नीति तथा कार्यक्रम छुट्टाछुट्टै प्रक्रियाबाट टुंग्याउने निर्णय गरेको थियो ।

महाधिवेशनमा सहभागी हुन अधिकांश महाधिवेशन प्रतिनिधिहरु काठमाडौं आइसकेका छन् । उनीहरूलाई बस्ने व्यवस्था सुन्धारा लगायतका स्थानका होटलहरुमा व्यवस्था गरिएको छ । खाना र नास्ताको व्यवस्था भने भृकुटीमण्डप परिसरभित्र हुनेछ ।

महाधिवेशनलाई लक्षित गरी नेपाल प्रहरीले तीन तहको घेरा र उच्च प्रविधिसहित सुरक्षा व्यवस्था मिलाइएको जनाएको छ ।

Must View