अन्तराष्ट्रिय श्रम संगठनबाट युवा उद्यमशिलता प्रवर्द्धनका लागि SALE परियोजनाको सुरुवात
समी भण्डारी - अन्तराष्ट्रिय श्रम संगठन काठमाण्डौ अफिसले युवा उद्यमशिलताको बिकास गर्ने नयाँ परियोजना सुरु गरेको छ। नेपाल सरकार, नीजि क्षेत्र, ट्रेड युनियन र अमेरिकन दुताबासको प्रतिनिधिका बीचमा एक समारोहमा यो परियोजनाको सुरुवात गरिएको थियो।
यो परियोजनाले खास गरी युवाहरुलाई उद्यमशिलतामा प्रबर्धन गर्ने र उद्यमशिलताको लागि आबश्यक बाताबरण निर्माण गर्ने र क्षमता बृदि गर्ने काम गर्नेछ। यो कार्यक्रम अमेरिकन सरकारको सहयोगमा आई एल ओ ले नेपाल र श्रीलंकामा सञ्चालन गर्ने कुरा उक्त कार्यक्रममा बताइएको थियो। अमेरिकन दुताबासको तर्फबाट दुताबासका आर्थिक र वाणिज्य अधिकारी रेफल सम्भौ, नेपाल सरकारको तर्फबाट नेपाल युवा परिषद्का डा.बाबुराम ढुङ्गाना ,ट्रेड युनियनका तर्फबाट संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका प्रमुख एवम् बागमति प्रदेश सांसद जगत सिम्खडा र तर्फबाट नीजि क्षेत्रबाट नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल लगायतका बक्ताहरुले आफ्नो मन्तब्य राख्नु भएको थियो।
कार्यक्रममा परियोजना प्रमुख डा.थोमस खिरिङ्गले सबै सहभागीलाई स्वागत गर्दै परियोजनाको रणनीति र मोडलको बारेमा जानकारी गराउनु भएको थियो । उनले युवा उद्यमशिलतासँग नेपालको भबिष्य जोडिएको र देशको दिगो बिकाशको लागि उद्यमशिलताप्रति हरेक नेपालीको, उसको परिवारको र सबै समाजको नै धारणा सकारात्मक हुनुपर्नेमा जोड दिनु भयो ।
अमेरिकन दुताबासका आर्थिक र वाणिज्य अधिकारी राफेल सम्भौले अमेरिकन दुताबासको सहयोगमा अन्तराष्ट्रिय श्रम संगठनले लागु गर्न लागेको यस उद्यमशिलता प्रबर्धन परियोजना, अमेरिकाको नेपाल बिकासप्रतिको अमेरिकाको प्रतिबद्धताको प्रतिक रहेको र यसले नेपाली महिला र पिछडिएका वर्गका लागि सहयोग हुने बिश्वास व्यक्त गर्नु भयो । त्यसैगरी नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका प्रमुख एवम् बागमति प्रदेश सांसद जगत सिमखडा,नेपाल युवा परिषद् प्रमुख डा.बाबुराम ढुङ्गेल लगायतले युवा उद्यमशिलताको महत्व दर्साउदै यस परियोजनाको सफलताको शुभकामना दिनु भएको छ ।
कार्यक्रमको दोस्रो सत्रमा ४ जना युवा उद्यमीहरु sochware.com का सहसंस्थापक तथा प्रमख कार्यकारी अधिकृत ईदा रिजाल, offering happiness का सह संस्थापक सन्तोष पान्डे, be a vegan Nepal का सह संस्थापक काजोल सेठीया तथा sovan incorporation का प्रबन्ध निर्देशक अभियान बुढाथाेकीलाई आफ्नो सफलताको यात्रा र भोगेका चुनौतिहरु सोधिएको थियो । श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पनि कार्यक्रम सफलताकाे शुभकामना दिएकाे छ । कार्यक्रममा सरकारी निकाय,नीजि क्षेत्र, शिक्षा क्षेत्र,ट्रेड युनियन लगायत ३० जनाको सहभागिता थियो। यस परियोजनाले धेरै युवाहरुको उद्यमशिलतामा प्रवर्द्धन गर्न सहयोग हुने राष्ट्रिय परियोजना संयोजक प्रकाश शर्माले बताउनु भयो।