नागरिक पोष्ट News


चेपाङ बालबालिकाहरु भोकभोकै विद्यालय जान बाध्य

735

छविराम पराजुली, काठमाडौं : धादिङको वेनिघाट रोराङ गाउँपालिकाका अधिकांश चेपाङ वालबालिकाहरु भोक–भोकै विद्यालय जान बाध्य भएका छन् । ज्यालामजदुरी गरेर परिवार पाल्दै आइरहनु भएका बेनिघाट रोराङ गाउँपालिका–२ सिमथलीका कालीबहादुर चेपाङका नौ वालबालिकाहरु भोक भोकै विद्यालय जान बाध्य भएका हुन् ।

ज्यालामजदुरी गरेर परिवार पाल्दै आएका चेपाङका ६ सन्तान विद्यालय जाने गरेका छन् । खरले छाएको सानो छाप्रोमा आगो बालेर गुन्द्रीको भरमा रात काट्ने कालीबहादुरका ती बच्चाले खाजा खान पाउने भएकाले मात्र विद्यालय जाने गरेका छन् । घरका अन्य सदस्यहरुको ज्यालामजदुरी गर्ने मात्र काम रहेको छ । ज्यालामजदुरी गर्न सकेको खण्डमा मात्र परिवार पाल्न सकिन्छ, नत्र हातमुख जोर्ने अर्को कुनै विकल्प नभएको कालीबहादुर चेपाङले बताउनु भयो । घरको मुल व्यक्ति नै मै हुँ, यदि कुनै समयमा विरामी भै हालेको खण्डमा साँझको चुलोमा आगो बोल्दैन् । भोक–भोकै सुत्न पर्छ उहाँको भनाई छ । आफ्नो नाममा भएको सम्पतिको नाममा थोरै खोरिया छ । दुई महिनालाई पुग्ने अन्न समेत फल्दैन् । बाँकी १० महिना सब परिवार भोकै बस्नु पर्छ ।

कुनै संघ संस्थाले सहयोग गदैन् । यो गरिबीलाई दया माया गर्ने कोही छैन् । मैलो फाटेका केही पुराना लुगाको भरमा वर्षौं काटेका चेपाङ परिवारका बालबच्चा गाउँ नजिकै रहेको विद्यालयमा जाँदा समेत पुरानो लुगा र खाली खुट्टामा जाने गर्दछन् । कालीबहादुरको परिवार मात्र होइन, सिमथलीका चेपाङ समुदायको दुःख करिब उस्तै छ । जाडो मौसममा आगोको भरमा रात काट्नुपर्छ भने विद्यालय जानेहरुले दिउँसोको खाजाको भरमा रात काट्नु पर्ने बाध्यता रहेको छ । सिमथलीमा रहेको प्रजा आधारभूत विद्यालयमा आउने विद्यार्थीहरुको अवस्था हेर्ने हो भने पनि उस्तै छ । अधिकांश विद्यार्थी भोकै विद्यालय आउँछन् । विद्यालय आएपछि खाजा बनाउने ठाउँ हेर्छन् र दिउँसोको खाजाको पर्खाइमा टुलु टुलु हेरी बस्छन् । अघिल्लो दिनको खाजाले भोक लागेका विद्यार्थी छट्पटिएर शौचालय जाने बहानामा खाजा बनाएको हेरेर कक्षामा फर्कने गरेको टिठलाग्दो दृश्य हरेक दिन देख्न सकिने विद्यालयका शिक्षिका अप्सरा मैनालीले बताइन् ।

गत वर्ष विद्यालयमा आउने विद्यार्थीको अवस्था नाजुक भएका कारण काठमाडौंका समाजसेवी राधा श्रेष्ठले संयोजन गरी कपडा र स्टेसनरी वितरण गरिएको थियो तर एक वर्ष भइसक्दा पनि उनीहरु त्यही पुरानो कपडा र फाटेको जुत्तामा विद्यालय जानु उनीहरुको दैनिकी भइसकेको छ । विद्यालय आउने तर घरमा अभिभावक नहुनेहरु झनै समस्यामा छन् । नियमित विद्यालय आउने छ वर्षीय डेप चेपाङ र आठ वर्षीय कमल चेपाङको आमाले घर छाडेर हिँडेको लामो समय भयो । बाबु घरमै आउँदैनन् । ज्याला गर्न गएर १०–१५ दिनमा फर्किन्छन् । मामाघरमा हजुरआमासँग बसेका उनीहरुको हालत खराब छ । विद्यालयको खाजामा जीवन चलेको छ । लगाउने लुगा छैन । जाडोको सिरेटोले काम्दै विद्यालयको दृश्य नरमाइलो किसिमको हुने गरेको शिक्षिका मैनालीको भनाई छ ।

प्रजा आधारभूत विद्यालयमा अध्ययन गर्ने विद्यार्थी मध्ये करिब २५ प्रतिशत हरेक दिन विद्यालयको खाजा खान पाइन्छ भनेर आउने गरेका छन् भने करिब ७५ प्रतिशत विद्यार्थी खाली खुट्टामा र विद्यालय पोशाक नलगाई विद्यालय आउने गरेका उहाँको भनाई छ । घरमा खाने अन्न नभएका चेपाङ समूदायको बसोबास रहेको सिमथलीमा ७० घर छन् । छाप्रा बनाएर बसेको गाउँमा र विद्यालयमा खानेपानी समेत छैन । विकासको सबै पूर्वाधारको पहुँचबाट टाढा रहेको सिमथलीवासीका लागि आयआर्जनको कुनै उपाय नभएपछि गाउँवासी ज्याला मजदूरी गर्न गाउँ छाडेर हिँड्ने र केही मानिस बच्चा भएकाले गाउँमै बसेर एक छाकको भरमा जीवन निर्वाह गरिरहेको कष्टकर जीवन देख्न सकिन्छ । बुवालाई खोलाले बगाएर मृत्यु भएपछि कठिन संघर्ष गरेर बाँचिरहेका ११ वर्षीया मनमाया चेपाङ र १४ वर्षीय सन्तोष चेपाङको अवस्था झनै कठिन छ ।

घरमा केही नभएपछि कठिन जीवन बिताइरहेको चेपाङ परिवारको कथा जस्तै लागे पनि यो वास्तविकता नयाँ स्थानीय सरकार बनेपछि पनि गरिबहरुले एक छाक खान समेत उस्तै अवस्था छ । स्थानीय सरकार आएको चार वर्ष वितिसक्दा पनि अझैसम्म उनीहरुको आर्थिक अवस्थामा कुनै परिवर्तन आउन सकेको छैन ।

Must View