नागरिक पोष्ट News


अत्यावश्यक नपरी विदेश भ्रमणमा  नजान आग्रह :स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

665

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अत्यावश्यक नपरी विदेश भ्रमणमा  नजान आग्रह गरेको छ । अफ्रिकी मुलुकहरूमा हालै पहिचान भएको ओमिक्रोन भेरियन्ट (बी.१.१.५२९) दक्षिण अफ्रिका र एसियाकै केही देशमा तिव्र बिस्तार भइरहेकोले सो संक्रमणलाई नेपाल प्रवेशबाट रोक्न मन्त्रालयले विदेश भ्रमण नगर्न आग्रह गरेको हो ।

विश्व स्वास्थ्य संगठनले पनि यो भेरियन्टलाई विश्वव्यापी भेरियन्ट अफ कन्सर्न घोषणा गरिसकेको छ । तर, हालसम्म नेपालमा उक्त भेरियन्ट फेला परी नसकेको मन्त्रालयले जनाएको छ । मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यही कारण यो भेरियन्टलाई रोक्न समयमै सावधानी अपनाइ नेपाल प्रवेश हुन नदिन र जनजीवनलाई सामान्य राख्न मन्त्रालय तथा सम्बन्धित निकायहरू तिव्र रुपमा एक भएर काम गरिरहेको अवस्था छ।’

कोभिड–१९ को ओमिक्रोन भेरियन्ट बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिमा असर पार्ने देखिएको छ । त्यसैले संक्रमण रोक्न सबै सचेत र जिम्मेवार बन्न र जनस्वास्थ्यका मापदण्ड पालना गर्न गराउन मन्त्रालयको अपील छ ।

Must View