नागरिक पोष्ट News


तयार भयो बच्चा जन्माउन सक्ने रोबोट !

1.2K

काठमाडौं - रोबोटबारे वैज्ञानिकहरुले नयाँ नयाँ प्रयोग गरिरहेका छन् । गत वर्ष जीवित रोबोट तयार पारेका वैज्ञानिकको समूहले अब भने रोबोटले आफूजस्तै अर्को रोबोट उत्पादन गर्नसक्ने तथ्य पत्ता लगाएका छन् ।

भर्मान्ट विश्वविद्यालय, टफ्टस विश्वविद्यालय र हावार्ड विश्वविद्यालयको विस इन्स्टिच्युट फर बायोलजिकली इन्स्पायर्ड इन्जिनियरिङका वैज्ञानिककाे टाेलीले बच्चा जन्माउनसक्ने रोबोट तयार गरेको हो ।

यो टोलीले अफ्रिकी भ्यागुताको भ्रुणको स्टेम सेल्स (कोषिका) मार्फत एउटा सूक्ष्म जीवित रोबोट बनाएको थियो, जसको नाम ‘जेनोबोट’ दिइएको छ ।

जेनोबोट ०.०४ ईन्च भन्दा पनि सानो छ र यो आफैं चल्नसक्छ, एक अर्कासँग मिलेर काम गर्न सक्छ । साथै, एक अर्कालाई उपचार पनि गर्न सक्छ । यही रोबोट बनाएको एक वर्षमै वैज्ञानिकहरूले यो रोबोटले बच्चा पनि जन्माउनसक्ने तथ्य पत्ता लगाएका हुन् ।

यो सुक्ष्म रोबोटले एउटा कोषिका पत्ता लगाउन सक्छ र सो एउटा एउटा कोषिकाहरुलाई आफ्नो मुखमा जम्मा गरेर एउटा शरीर बनाउनसक्ने र केही दिनपछि सो जम्मा गरेको कोषिकाहरूबाट एउटा नयाँ जेनोबोट उत्पादन गर्नसक्ने वैज्ञानिकहरूले पत्ता लागेको आफ्नो रिपोर्टमार्फत् सार्वजनिक गरेका छन् ।

रोबोटहरुको अन्वेषणले आगामी दिनमा मानव सभ्यताको अस्तित्वमाथि चुनौती थपिने बहसहरू भइरहेका छन् । यद्यपि संलग्न टोलीको वैज्ञानिकहरूले भने यो जेनोबोट धेरै सानो हुने र प्रयोगशालामा मात्रै रहने बताएका छन् ।

त्यस्तै, यसलाई सजिलै मार्न पनि सकिने भएका कारण यसले मानव सभ्यतालाई कुनै चोट नपुर्‍याउने वैज्ञानिकहरू बताउँछन् ।  

Must View