नेपालमा नयाँ भेरियन्ट फेला परेको छैन: स्वास्थ्य मन्त्रालय
काठमाडौं । विश्व स्वास्थ्य सङ्गठनले शुक्रवार दक्षिण अफ्रिकाका सबै प्रान्तमा कोरोना भाइरसको नयाँ भेरियन्ट फेला परेको जनायो । यो भेरिअन्ट नोभेम्बर ९ मा संकलित नमुनामा पहिलो पटक फेला परेको हो । सङ्गठनले पहिला यो भेरिअन्टलाई बी.१.१.१५९ को संकेतबाट चिनाएको थियो । कोरोनाको पछिल्लो भेरियन्टलाई ओमिक्रोन नामकरण गरिएको छ । कोरोना भाइरसको नयाँ भेरियन्ट अहिलेसम्म १० मुलुकमा फैलिएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । पछिल्लो विवरण अनुसार हालसम्म दक्षिण अफ्रिका लगायत १० वटा मुलुकमा ओमिक्रोनका संक्रमित फेला परिसकेका छन् । हालसम्म अष्ट्रेलिया, इटाली, जर्मनी, नेदरल्याण्ड, बेलायत, इजरायल, हङकङ, बेलिजयम लगायत विभिन्न देशमा फैलिसकेको छ ।
डब्ल्यूएचओले ओमिक्रोनलाई ‘चिन्ताको विषय’ भनेर विश्वभरी नै सतर्क रहन भनेको छ । अहिले कोरोनाको ओमिक्रोन भेरियन्टले विश्वलाई चिन्तित बनाएको छ । तीव्र संक्रामक र घातक देखिएको यो भेरियन्टले नेपालमा पनि थप त्रास सिर्जना गरेको छ ।