नागरिक पोष्ट News


चिसो बढिरहेकाले सतर्कता अपनाउन आग्रह

630

काठमाण्डौँ - नेपालमा अहिले बङ्गलादेश र आसपासमा रहेको न्यून चापीय प्रणालीका साथै अरब सागर तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक असर परेको छ । उक्त मौसमी प्रणालीको असरले देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राजधानी काठमाडौँसहित देशभर चिसो बढिरहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । महाशाखाले आगामी २४ घण्टाका देशभर चिसो बढ्ने क्रममा रहेकाले आवश्यक सतर्कता अपनाउनु अनुरोध गरेको छ ।

प्रदेश नं १, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आज काठमाडौँको न्यूनतम तापक्रम छ दशमलव छ र अधिकतम तापक्रम २१ दशमलव चार डिग्रिसेल्सियस रहेको छ । आइतबार काठमाडौँको न्यूनतम तापक्रम सात दशमलव हाराहारीमा थियो । मङ्सिरयता निरन्तर न्यूनतम तापक्रम घट्दै गएकाले बढी चिसो बढिरहेको हो । न्यूनतम तापक्रम घटे पनि हिजो र आज बिहानैदेखि पारिलो घाम लागेकाले काठमाडौँमा तुलनात्मकरुपमा कम चिसो महशुस गरिएको छ ।

महाशाखाका अनुसार अहिले प्रदेश नं १, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । रातिको समयमा पनि देशभर आंशिक बदली हुनाका साथै गण्डकी प्रदेशको उच्च हिमाली भागको एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।मङ्गलबार पनि देशभर आंशिक बदली रहने जनाइएको छ । बुधबार पनि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशमा सामान्यदेखि पूर्णतया बदली रही बाँकी भागमा आंशिकदेखि सामान्य बदली हुनसक्ने बताइएको छ ।

Must View