नागरिक पोष्ट News


वुमन ईन आईसिटी र पाटन जेसीसको संयुक्त आयोजनामा ३ दिने युवाहरुका लागि डिजीटल लिट्रेसी २०२१ सम्पन्न

2.8K

काठमाण्डौँ - डिजीटल लिट्रेसीमा युवा पुस्ता क्यान महासंघ अन्तर्गत वुमन ईन आईसिटी र पाटन जेसीसको संयुक्त आयोजनामा ३ दिने युवाहरुका लागि डिजीटल लिट्रेसी २०२१ सम्पन्न भएको छ ।

विद्यार्थी भाइबहिनीहरु विच लुकेर रहेको सूचना, प्रविधि क्षेत्रका ज्ञान, कला र कौशलता प्रस्फुटित गराउने र प्रविधिको सही प्रयोग गर्न प्रोत्साहित गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरेको कार्यक्रमका संयोजक दिव्या तारा शाक्यले जानकारी दिनुभयो । अहिलेको युवा पुस्ताले डिजीटल लिट्रेसीलाई ज्ञानको महत्वपूर्ण मार्गको रुपमा लिएको पाईन्छ । प्रविधिको प्रयोग र ज्ञानबाट जस्तै कम्प्युटर, मोवाइल, प्रोग्रामिंगबाट बनाइने विभिन्न मोडलहरु, भिडियो, अडियो आदि प्राविधिक जानकारीहरु प्रशोधन गरी उत्पादन गर्न सक्ने खुबी अहिलेका युवाहरुको माग पनि हो ।

यसको सही सदुपयोग गरेर ज्ञान र शीपको उजागर गर्न सके प्रविधिको क्षेत्रमा युवा पुस्ताको भविष्य निकै राम्रो रहेको छ भने यसको दुरुप्रयोगले बढ्दै गइरहेको साइबर क्राइम अर्को चुनौतीको रुपमा रहेको छ । यिनै विषयमा केन्द्रित रहेर ३ दिनको कार्यक्रममा विभिन्न विषयहरु मेरो कोडिङ्ग, साइबर सेक्यूरिटी, थ्री डी मोडलिङ्गका बारेमा यसका विज्ञहरुले भर्चुयल तालिम आयोजना गरेको थियो । जसमा क्रमशः प्रशिक्षकहरु मेरो कोडिङ्गका लागि विवेक सुवेदी, साइबर सेक्यूरिटीका लागि किमिल तिमिल्सिना तथा थ्री डी मोडलिङ्गका लागि एस राज श्रेष्ठ र उनका अन्य टिमहरु रहेका थिए ।

कार्यक्रमको उद्घाटनका प्रमुख आतिथ्यता नेशनल डिजिटल ट्रान्सफरमेसन कमिटीका अध्यक्ष विक्रम श्रेष्ठ हुनुहुन्थ्यो भने समापन कार्यक्रममा क्यान महासंघका उपाध्यक्ष कुशल रेग्मी हुनुहुन्थ्यो । थ्री डी मोडलिङ्ग तालिम अर्थात कम्प्यूटर तथा मोवाइलबाट प्रोग्रामिङ्गको प्रयोग गरी विभिन्न वस्तुहरु बनाउन सिकाउने तालिम हो। तालिम अवधिमा बनाइएका वस्तुहरुको मूल्याङ्कनका आधारमा टप १० को घोषणा गरिएको थियो भने टप ५ लाई क्यान महासंघले एक कार्यक्रममा सूचना तथा संचार मन्त्री देवेन्द्र पौडेलद्धारा प्रमाणपत्र र मोडल प्रदान गरिएको थियो ।

कार्यक्रममा ज्ञानोदय बाल बाटिका र अन्य थुप्रै स्कूलहरुबाट विद्यार्थी भाई बहिनीहरु सहभागी भएका थिए । टप ५ मा पर्न सफल भाइबहिनीहरु क्रमशः शुभतारा स्कूलबाट सुजल तुलाधर, ज्ञानोदय बाल बाटिकाका विधानिका अधिकारी, अक्सिडेन्टल पब्लिक स्कूलका रौनक रेग्मी, माल्पी सिटी स्कूलका अश्लेषा शाक्य र ज्ञानोदय बाल बाटिकाका श्रेया थापा रहेका छन् ।

कार्यक्रमको समापनमा प्रमुख अतिथि रेग्मीले भर्चुयल रुपमा नै सहभागी विद्यार्थी भाइ बहिनीहरुलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो । कार्यक्रम समापनमा क्यान महासंघ अन्तर्गत उमेन ईन आईसिटीका अध्यक्ष शीला कंसाकार कार्की र पाटन जेसीसका अध्यक्ष जाज्वल्यमान जोशीले आफ्नो मन्तव्य दिनुभएको थियो ।

Must View