एमाले उपाध्यक्ष भीम रावलद्धारा एमाले अध्यक्षमा उम्मेदवारी घोषणा
काठमाडौं – एमाले उपाध्यक्ष भीम रावलले पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गर्ने भएका छन् । रावलले आइतबार राजधानीमा विशेष पत्रकार सम्मेलन गरेर अध्यक्षमा उम्मेदवारी घोषणा गर्न लागेको रावलका सहयोगी एकिन्द्र कुँवरले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो ‘आज विशेष पत्रकार सम्मेलन गरेर १० औं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी घोषणा गर्न लाग्नुभएको छ’ । रावलले टीम बनाएरै चुनाव लड्नेगरी तयारी थालेको बताइएको छ । चितवनमा आगामी मंसिर १०–१२ सम्म हुने महाधिवेशनमा वर्तमान उपाध्यक्ष रावलले उम्मेदवारी दिने भएसँगै केपी ओलीको सर्वसम्मत अध्यक्ष बन्ने योजनामा धक्का लाग्ने देखिएको छ ।
एमाले संस्थापनले महाधिवेशनबाट अध्यक्षसहितको पदाधिकारी सर्वसम्मतरुपमा छान्ने कसरत गर्दै आएको छ । तर, ओलीको क्रियाकलाप प्रति असन्तुष्ट रावल लगायतले पार्टी रुपान्तरण हुनुपर्नेमा जोड दिँदै आएका छन् । एमालेका तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालसँग निकट मानिने रावल लगायत नेपालले पार्टी फुटाउँदा भने एमालेमै संघर्ष गर्ने भन्दै साथ दिएका थिएनन् । रावलले पार्टीभित्र निरन्तर आफ्नो असन्तुष्टि राख्दै आएका छन् ।