काठमाडौं विश्वकै आठौँ प्रदूषित सहर, नेपालका ‘रेड जोन’ सहरहरु कुन कुन ? हेर्नुहोस्
काठमाडौं : नेपालको राजधानी काठमाडौं विश्वकै प्रदूषित सहरको आठौँ नम्बरमा उक्लिएको छ । वायुको गुणस्तर मापन गर्ने युरोपेली संस्था आइक्युएयरको लाइभ अपडेटमा पाकिस्तानको लाहोर विश्वकै प्रदूषित सहरको पहिलो नम्बरमा छ । त्यहाँ वायु गुणस्तर सूचकांक पिएम-२.५ (पार्टिकुलेट म्याटर)को मात्रा प्रतिघन्टा ४०७ माइक्रोग्राम प्रतिघनमिटर छ । जुन घातक हाे । नेपालमा पनि याे सूचकांक पाँच सयसम्म नाघ्ने गरेकाे छ ।
दोस्रोमा दक्षिण कोरियाको इनचोन, तेस्रोमा भारतको राजधानी नयाँदिल्ली, कीर्गिस्तानको विस्केक, पाँचौमा भारतको कोलाकाता सहर, छैटौँमा क्रोसियाको जागरेब, सातौँमा बंगलादेशको ढाका र आठौँमा नेपालको काठमाडौं रहेको छ ।
नेपालका यी सहर रेडजोनमा
नेपालमा वातावरण विभागले पनि वायु प्रदूषणको गुणस्तर मापन गर्छ । विभागले काठमाडौंसहित मुलुकका विभिन्न सहरमा राखेको वायु गुणस्तर मापन केन्द्रको तथ्यांक अनुसार प्रदूषण बढ्दै गएको छ ।
काठमाडौंसहित पाँच सहरको वायु प्रदूषण मानव स्वास्थ्यका लागि हानिकारक अवस्थामा पुगेको छ । पिएम२.५ को मात्रा प्रतिघन्टा हेर्दा पोखरामा १८४, बिराटनगरमा १७६, काठमाडौंको रत्नपार्कमा १५१, कीर्तिपुरमा १५६, सिमरामा १५४ पुगेको छ । धनकुटा, धनगढी, महेन्द्रनगरमा पनि प्रदूषण बढिरहेको छ । ती सहरको वायु गुणस्तरको मात्रा राष्टिय मापदण्डभन्दा बढी रहे पनि रेड जोनमा परिसकेका छैनन् ।