पीडित परिवारलाई पालिकाले ५० हजार रुपैयाँ राहत दिने
काठमाडौं - आगलागीका कारण मुगुको गमगढीमा झण्डै ७५ परिवार विस्थापित भएका छन् । २१ घरधुरीसहित आगलागीबाट ७४र७५ परिवार विस्थापित भएको विवरण संकलन भएको छायाँनाथ रारा नगरपालिकाका मेयर हरिजंङ्ग शाहीले जानकारी दिनुभयो ।
उहाँका अनुसार आगलागीबाट भएको क्षतिबारे यकिन विवरण भने आज मात्रै आउने छ । अग्नि पीडितलाई आज नगरपालिकाले नगदसहित राहत वितरण गर्ने तयारी गरेको पनि उहाँले जानकारी दिनुभयो । आज दिउँसो प्रति परिवारलाई ५०र५० हजार रुपैयाँसहित राहत वितरण गरिने उहाँले जानकारी दिनुभयो । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले हिजो नै प्रभावित क्षेत्रमा पुगेर राहत वितरण गर्ने बताए पनि हिजो उहाँ प्रभावित क्षेत्रमा पुग्नु भएन । उहाँ आज गमगढी जाने तयारीमा रहेका पनि कर्णाली प्रदेश सरकारले जनाएको छ ।
हिजो अग्नि पीडितलाई रेडक्रसले त्रिपाल वितरण गरेको थियो । आगलागीका कारण बास गुमाएका धेरैजसोले गएको रात आफन्तकोमा बसरे बिताए भने केही त्यहाँ नजिकै रहेका घरमा डेरा खोज्न पुगेका थिए ।