नागरिक पोष्ट News


मंसिर ३ देखि ५ गतेसम्म १८ औं हस्तकला व्यापार मेला हुदै

658

नेपाल हस्तकला महासंघको आयोजनामा आगामी मंसिर ३ देखि ५ गतेसम्म १८ औं हस्तकला व्यापार मेला तथा १६ औं कला प्रतियोगिता काठमाडौंमा हुने भएको छ । महासंघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै हायत होटलमा मंसिर ३ गते प्रधानमन्त्री शेरबहादुर देउवाले मेला उद्घाटन गर्ने जानकारी दिएको हो ।

कोरोना महामारीका कारण शिथिल बनेको नेपाली हस्तकलाको आन्तरिक तथा वाह्य बजारलाई पुन स् चलायमान बनाउन मेलाले महत्वपूर्ण भूमिका खेल्ने आयोजकको अपेक्षा रहेको छ । उक्त मेलामा हस्तकला लगायत विभिन्न वस्तुको करिब एकसय २० स्टल रहने छन् भने मेलाको प्रमुख आकर्षणमा कला प्रतियोगिताअन्तर्गत बिभिन्न विधामा प्रतियोगिता गरिने र प्रतियोगीलाई पुरस्कृत समेत गरिने महासंघका अध्यक्ष सुरेन्द्रभाइ शाक्यले जानकारी दिनुभयो । मेलामा समय सापेक्ष अनुरुप हस्तकला वस्तुहरुको प्रर्दशन गरिनुका साथै हस्तकलाका विभिन्न विधामा संलग्न ७० वर्ष नाघेका १० जना जेष्ठ तथा वरिष्ठ कलाकारहरुलाई सम्मान गरिने भएको छ ।  

विगतमा भन्दा केही नयाँ अवधारणाका साथ आयोजना गर्न लागिएको यो व्यापार मेलाले यस क्षेत्रमा सकारात्मक उर्जा उत्पन्न गर्न सहयोग पुयाउने शाक्यले बताउनुभयो । प्रदर्शनी एवं मेलाको माध्यमबाट हस्तकलाको आन्तरिक व्यापार प्रवर्द्धन र निर्यात व्यापारमा समेत टेवा पुर्याउने उद्देश्यले हरेक बर्ष अन्तर्राष्ट्रियस्तरको हस्तकला व्यापार मेलाको आयोजना गर्दै आएको महासंघले जनाएको छ । 

नेपाल हस्तकला महासंघले काठमाडौमा विगत २०४८ सालदेखि अन्तर्राष्ट्रिय स्तरको हस्तकला व्यापार मेलाको आयोजना गर्दै आइरहेको छ । १६ औ हस्तकला प्रतियोगिता मा प्रथम पुरस्कार रु ५० हजार, द्धितीय पुरस्कार रु ३० हजार, तृतिय पुरस्कार रु २० हजार रहेको छ । साथै प्रतियोगितामा सहभागी सम्पुर्ण कलाकारहरुलाई प्रमाणपत्र प्रदान गरिने भएको छ । गत वर्ष विश्वभर फैलिएको कोरोना महामारीको कारण हस्तकला मेला भएको थिएन ।

Must View