सेलरोटी खाँदै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुस्
काठमाडौं । दशैंपछिको अर्को ठुलो चाड हो, तिहार । तिहार भन्नसाथ माला, बत्ती, फलफूल र टीकाको झिलिमिली अनि बास्नादार परिकारको झल्को आउँछ । त्यससँगै तिहार सेलका लागि पनि उत्तिकै प्रसिद्ध छ । तिहार र सेलरोटी एकअर्काको पर्याय जस्तै । जब तिहारको सम्झना हुन्छ, सेलरोटीको तलतल लाग्छ । जब सेलरोटी देख्छौं, तिहारको झल्को आउँछ । तिहारमा पाक्ने अधिकांश परिकार चिल्लो हुन्छन् । सेलरोटीलाई विशेष मानिन्छ । यसपछि अनरसा, अरशा, पत्रे त भइहाले । तर यी सबै चिल्ला खानेकुरा बढी खाँदा शरीरमा विभिन्न किसिमका समस्या हुनसक्छन् ।
धेरै चिल्लो पदार्थ खाँदा पेट ढुस्स हुने, अमिलो पानी आउने, खानामा अरूचि हुने लगायत समस्या देखा पर्छन । चिल्लो पदार्थले स्वस्थ व्यक्तिलाई समेत समस्या निम्ताउँछ । अझै रोगीलाई त चिल्लो खानेकुरा हानिकारक नै हुन्छ । मोटोपना, कोलस्ट्रोल बढाउने मात्र हैन, रक्तचाप, मधुमेह र अम्लपित्त आदिको समस्या पनि बढाउँछ । मुटुका बिरामीलाई चिल्लो र गुलियो अझै घातक हुन्छ ।
अत्यधिक तेलमा पकाइएका खानेकुरा पचाउन गाह्रो हुन्छ । सेलरोटी बनाउँदा तोरी, भटमास वा सूर्यमुखी तेल प्रयोग गर्नु राम्रो हुन्छ । तर, एउटै तेलमा पटक–पटक सेलरोटी बनाउन हुँदैन । बासी तेलमा खानेकुरा बनाउन नहुने र एकैपटक धेरै परिकार बनाएर राख्न पनि हुदैन ।
सेलसँगै फलफूल, सागपात र पानी प्रशस्त पिउनुपर्छ । यसले चिल्लो पचाउन सहज हुन्छ । खाली पेटमा सेलरोटी खाँदा ग्यास्ट्रिक बढ्छ । केही सादा खाना खाएर मात्र खानुपर्छ । मधुमेह, उच्च रक्तचाप, ग्यास्ट्रिक भएकाले सेलरोटी धेरै खानु हुँदैन । चार÷पाँचथरि खाद्य समूहका खानेकुरा प्रत्येक छाकमा हुन आवश्यक छ ।
कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन, खनिज, चिल्लो पदार्थ भएका सबै खानेकुराको मात्रामा ध्यान दिन जरुरी हुन्छ । सन्तुलित खानामा सधैं एउटै किसिमका खानेकुरा पर्दैनन् । जस्तै सेलरोटी मात्रै खाइरहनु सन्तुलित खानामा पर्दैन । विभिन्न प्रकारका तरकारी, गेडागुडी खानेकुरा मिलाएर खानु सन्तुलित खाना हो ।
यसले चिल्लो पदार्थ पनि पच्छ र शरीरमा समस्या आउँदैन। कुनै एउटा खानेकुरा आफैंमा पूर्ण हुँदैन । त्यसकारण सबै पौष्टिक आहार मिलाएर खाएमा मात्रै सन्तुलित खाना हुने चिकित्सकहरु बताउँछन् ।