नागरिक पोष्ट News


पर्वत अस्पतालले पत्रकारहरुको स्वास्थ्य उपचारमा ४० प्रतिशत छुट दिने

693

पर्वत : पर्वत अस्पतालले पत्रकारहरुको स्वास्थ्य उपचारमा ४० प्रतिशत छुट दिने भएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.ढुण्डिराज पौडेलका अनुसार नेपाल पत्रकार महासंघ पर्वत शाखाले पत्रकारको उपचारमा सघाउनका लागि अनुरोध गरेपछि महासंघ र अस्पतालबीच सम्झौता गर्ने गरी प्रक्रिया अगाडि बढाइएको हो ।

यसका लागि गत भदौमा नै अस्पतालको पुरानो समितिले निर्णय गरेको थियो । ‘महासंघ र अस्पतालबीच यसबारेमा सहमति भइसकेको छ,प्रक्रिया अगाडि बढेर पनि सम्झौता भने भएको छैन, सम्झौता भएपछि यसलाई कार्यान्वयनमा लैजान्छौँ,’ उनले भने,‘के के कुरामा छुट दिने भन्ने पनि निर्णय भएको छैन,अस्पताललाई पनि मार नपर्ने र पत्रकारलाई पनि राहत हुने गरी सम्भव भएका सेवामा छुट दिन सकिन्छ।’ औषधि महँगो हुने तथा कतिपय परीक्षणको शुल्क बढी लाग्ने भएकाले अस्पतालले खर्च धान्न नसक्ने अवस्था आउने हुँदा औषधिमा छुट दिन नसकिने बताउँदै डा पौडेलले अहिलेसम्मको तयारीमा मुटुको जाँच, भिडियो एक्स रे, एक्स रे, रगत परीक्षण, दिसा तथा पिसाब परीक्षण, सामान्य जाँचलगायतमा छुट दिन सकिनेबारेमा छलफल भइरहेको बताउनु भयो ।

अस्पताल व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष गोविन्द पहाडीले अघिल्लो सरकारले पत्रकारको उपचारमा ५० प्रतिशत छुट दिने गरी नीति तथा कार्यक्रममा घोषणा गरेको भए पनि त्यसबारे कुनै कार्यविधि नआएका कारण अस्पताल आफैँले खर्च बेहोर्ने गरी गत भदौमा यो निर्णय गरेको बताउनु भएको छ । 

 

Must View