नागरिक पोष्ट News


मुख्यमन्त्री शाक्यले दिइन् राजीनामा

742

काठमाडौं – बागमती प्रदेश मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री पदबाट राजीनामा दिएकी छन्। शाक्यले आज बुधबार प्रदेशसभामा सम्बोधन गर्दै राजीनामाको घोषणा गरेकी हुन्। संविधानको धारा १६९ को १ (क) बमोजिम मार्गप्रशस्त (राजीनामा) गरेकी हुन्। उनले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैप्रति धन्यवादसमेत दिइन् ।

गत असोज २४ गते विश्वासको मतसम्बन्धी प्रस्ताव टेबुल गर्दा प्रदेशसभा सदस्यहरूले उठाएका प्रश्नबारे शाक्यले आजको प्रदेशसभा बैठकमा उत्तर दिएकी थिइन् । राजीनामा घोषणा गरेपछि प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष राजीनापत्र बुझाइने बताइएको छ ।

आज बस्ने प्रदेशसभामा मुख्यमन्त्री शाक्यको विश्वासको मत विभाजन हुने कार्यतालिका थियो। मतदानको लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसके पनि मुख्यमन्त्री शाक्यले राजीनामा दिएसँगै मतदान प्रक्रियामा जानुनपरेको सभामुख सानुकुमार श्रेष्ठले बताएका थिए । प्रदेशसभाको अर्को बैठक अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित भएको  छ ।

विपक्षी गठबन्धनले नेकपा (एकीकृत समाजवादी)का संसदीय दल नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्रीका रूपमा अगाडि बनाउने निर्णय गरिसकेको छ। बागमतीमा एकीकृत समाजवादी र नेपाली कांग्रेसले आधा–आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति पनि भएको छ ।

मुख्यमन्त्री शाक्य भदौ २ मा नेपालकै पहिलो महिला मुख्यमन्त्री बनेकी थिइन् । नेकपा एमालेका १३ सांसद् एकीकृत समाजवादीतिर लागेपछि शाक्य अल्पमतमा परेकी थिइन् । 

 

Must View