भिरबाट लडेर नेपाल पत्रकार महासंघ हङ्कङका अध्यक्ष राईको मृत्यु
खोटाङ : हङकङमा पत्रकारिता गर्दै आएका धरानका पत्रकार किसन राईको भिरबाट लडेर खोटाङमा मृत्यु भएको छ । धरान उपमहानगरपालिका–१५ घर भई हाल हङ्कङमा बसेर पत्रकारिता गर्दै आएका ५३ वर्षीय पत्रकार राईको आइतबार साँझ पङ्खुखोला नजिकैको भिरबाट लडेर मृत्यु भएको हो ।
खोटाङबाट भोजपुर जानेक्रममा आइतबार साँझ करीब साढे पाँच बजेको समयमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पास्थित पङ्खुखोला नजिकैको भीरबाट लडेर पत्रकार राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सागर साहले जानकारी दिनुभयो । हङकङबाट नेपाली भाषामा प्रकाशन हुने पत्रिका ‘एभरेष्ट साप्ताहिक’का प्रकाशक एवम् सम्पादक रहेका राईको शव परीक्षणका लागि आइतबार राति नै जिल्ला अस्पताल दिक्तेलमा ल्याएर राखिएको छ । पत्रकार राईको शव हङकङबाट आफन्त आएपछि परीक्षण गरेर जिम्मा लगाउने प्रहरीले जनाएको छ ।
पत्रकार राईको मृत्युबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेश लम्सालले जानकारी दिनुभयो । पत्रकार राईको मृत्युपछि पूर्वएसपी श्रेष्ठ र चालकसहित तीनजनालाई जिल्ला प्रहरी कार्यालयमै राखेर अनुसन्धान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । मृतक पत्रकार राईसहितको टोली प्रदेश नं. २–०१–०२४ च ३८०२ नम्बरको निजी कार लिएर भ्रमणमा आएको बुझिएको छ ।